पूर्वाधार सम्मेलन मुलुकको आर्थिक समृद्धिसँग जोडिएको छ : निकोलस पाण्डे
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले आसन्न नेपाल पूर्वाधार सम्मेलन–२०२६ मुलुकको आर्थिक समृद्धिसँग जोडिएको बताउनुभएको छ।
नेपाल पूर्वाधार सम्मेलन–२०२६ को तयारीसम्बन्धी लगानी र विकासका लागि कानुन सुधार परामर्श कार्यशाला गोष्ठीलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष पाण्डेले पूर्वाधार सम्मेलनअघि पूर्वाधारमैत्री ऐन–कानुन तर्जुमा गर्न सरकारले गरेको प्रयास सकारात्मक रहेको बताउनुभयो।
निर्माण क्षेत्रमा सार्वजनिक खरिद ऐन तथा नियमावलीका साथै वन, बैंकिङ, मध्यस्थता लगायतका विषयसँग सम्बन्धित ऐन–कानुनहरू समेत बाधक रहेको उहाँको भनाइ थियो। मुलुकको भौतिक पूर्वाधार विकासलाई गति दिन निर्माणमैत्री ऐन, कानुन तथा कार्यविधि आवश्यक रहेको पाण्डेले बताउनुभयो।
अध्यक्ष पाण्डेले आफू YCNC को अध्यक्ष हुँदा सन् २०१४ मा CNI सँगको सहकार्यमा पहिलोपटक पूर्वाधार सम्मेलन आयोजना गरिएको स्मरण गर्नुभयो। मुलुकको आर्थिक प्रगति र विकासका लागि यस्ता सम्मेलन महत्वपूर्ण हुने उहाँले धारणा राख्नुभयो।
विगतका पूर्वाधार सम्मेलनबाट पारित तथा उठाइएका कतिपय विषयहरू अझै कार्यान्वयनमा आउन नसकेको उल्लेख गर्दै पाण्डेले वर्तमान सरकारले ती निर्णय तथा प्रतिबद्धताहरू कार्यान्वयन गर्ने आशा व्यक्त गर्नुभयो।
उहाँले लगानीको वातावरण निर्माण, पूर्वाधार विकासमा देखिएका कानुनी अवरोध हटाउने तथा निर्माण क्षेत्रलाई सहज बनाउने विषयमा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा समेत जोड दिनुभयो।
