नुवाकोटमा महासंघको सहयोगमा २६७ मिटर लामो झोलुङ्गे पुल निर्माण, हजारौँ स्थानीय लाभान्वित
अध्यक्ष निकोलस पाण्डेद्वारा पुल उद्घाटन, विपद्लाई अवसरमा बदल्दै निर्माण व्यवसायीको उदाहरणीय काम
नुवाकोट, असोज १०। नुवाकोटको ढुंगेबजारदेखि महत्वपूर्ण व्यापारिक केन्द्र त्रिशूली बजार जोड्ने २६७ मिटर लामो झोलुङ्गे पुल औपचारिक रूपमा सञ्चालनमा आएको छ। नेपाल निर्माण व्यवसायी महासंघको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको पुलको शुक्रबार बिहान महासंघका अध्यक्ष निकोलस पाण्डेले उद्घाटन गर्नुभएको हो।

भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा आवागमन सहज बनाउने उद्देश्यले निर्माण गरिएको उक्त पुल करिब एक महिनामै सम्पन्न भएको हो। पुल सञ्चालनमा आएसँगै दैनिक हजारौँ स्थानीय बासिन्दा लाभान्वित हुने अपेक्षा गरिएको छ।
पुल उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष पाण्डेले विपद्का कारण आफन्त गुमाउँदाको पीडालाई शक्तिमा बदल्दै नुवाकोटका निर्माण व्यवसायीहरूले छोटो समयमै पुल निर्माण गरेर उदाहरणीय काम गरेको बताउनुभयो।

उहाँले भन्नुभयो, “यो पुल निर्माणपछि निर्माण व्यवसायीहरूले समयमै गुणस्तरीय काम गर्न सक्दैनन् भन्ने कुराको खण्डन भएको छ।” पुल निर्माणमा संलग्न प्राविधिक तथा मजदुरहरूको योगदानको प्रशंसा गर्दै अध्यक्ष पाण्डेले सबैलाई धन्यवादसमेत व्यक्त गर्नुभयो।

अध्यक्ष पाण्डेका अनुसार विपद्का बेला सहयोग गर्ने परम्परालाई निरन्तरता दिँदै महासंघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा देशभरका निर्माण व्यवसायीमार्फत १० करोड रुपैयाँभन्दा बढी रकम जम्मा गरेको छ। उहाँले राज्य विपद्मा परेका बेला महासंघले विगतदेखि नै विभिन्न किसिमका सहयोग गर्दै आएको उल्लेख गर्नुभयो।
निर्माण कार्यमा कर्मचारीतन्त्रबाट अनावश्यक बाधा सिर्जना नहुने हो भने नेपाली निर्माण व्यवसायीहरूले अझ उत्कृष्ट काम गर्न सक्ने उहाँको भनाइ थियो।
कार्यक्रममा बागमती प्रदेश निर्माण व्यवसायी महासंघका अध्यक्ष छत्रबहादुर तामाङले छोटो समयमै हजारौँ नागरिकलाई लाभ पुग्ने गरी पुल निर्माण हुनुले निर्माण व्यवसायीप्रतिको सामाजिक दृष्टिकोणमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी, विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ र जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजेन्द्र विक्रम सिंह ठकुरीलगायतले महासंघले सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको कामको प्रशंसा गर्नुभयो। उहाँहरूले पुल निर्माणलाई ऐतिहासिक र उदाहरणीय कार्यका रूपमा चित्रण गर्नुभयो।
निर्माण व्यवसायी संघ नुवाकोटका अध्यक्ष शैलेन्द्रराज प्याकुरेलले महासंघको यस कार्यबाट राज्यले समेत पाठ सिक्नुपर्ने धारणा राख्नुभयो।
उद्घाटन समारोहमा महासंघका वरिष्ठ उपाध्यक्ष रामजी पन्त ‘मुकेश’, उपाध्यक्ष बालकृष्ण थापा, महासचिव शिवहरि घिमिरे, उपमहासचिव सन्तोष साह, कार्यसमिति सदस्य सरेन्द्रराज केसी, विशेष आमन्त्रित सदस्य ओपेन्द्रकुमार खड्का तथा महासंघका कार्यालय प्रमुख प्रेम सिंह ऐरलगायतको उपस्थिति रहेको थियो।
पुल सञ्चालनमा आएसँगै ढुंगेबजार र त्रिशूली बजारबीचको आवागमन सहज हुनुका साथै स्थानीय बासिन्दाको दैनिक जीवन, व्यापारिक गतिविधि तथा आवतजावतमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तस्बिरमा हेर्नुहाेस
“

