साहित्य सदनद्वारा ‘आख्यानमा विश्वेश्वरप्रसाद कोइराला’ विषयक सङ्गोष्ठी आयोजना
काठमाडौं, भदौ २४ । नेपाली साहित्यका सशक्त आख्यानकार तथा साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको १ सय १३औँ जन्मजयन्तीका अवसरमा साहित्य सदन नेपालले ‘आख्यानमा विश्वेश्वरप्रसाद कोइराला’ विषयक सङ्गोष्ठी आयोजना गरेको छ ।
वरिष्ठ साहित्यकार डा. तुलसीप्रसाद भट्टराईको प्रमुख आतिथ्य तथा साहित्य सदन नेपालका अध्यक्ष प्रा.डा. हेमनाथ पौडेलको अध्यक्षतामा सम्पन्न सङ्गोष्ठीमा कोइरालाका आख्यानमा रहेका विविध साहित्यिक, सामाजिक तथा वैचारिक पक्षमाथि चर्चा गरिएको थियो ।
कार्यक्रममा प्रा.डा. लक्ष्मणप्रसाद गौतमले ‘विश्वेश्वरप्रसाद कोइरालाका आख्यानमा इतरजातीय नारी–पुरुष सम्बन्ध’, प्रा.डा. नारायणप्रसाद चालिसेले ‘विश्वेश्वरप्रसाद कोइरालाका आख्यानको प्रगतिशील वैचारिक समाजदर्शन’ र डा. अनुपमा रेग्मीले ‘विश्वेश्वरप्रसाद कोइरालाका कथामा प्रयुक्त दिक्काल’ विषयक गोष्ठीपत्र प्रस्तुत गर्नुभएको थियो ।
गोष्ठीपत्रमाथि पूरक टिप्पणी गर्दै प्रा.डा. रमेशप्रसाद भट्टराई, प्रा.डा. ज्ञानु पाण्डे र प्रा.डा. गोपीन्द्र पौडेलले कोइराला नेपाली आख्यान क्षेत्रका महत्वपूर्ण धरोहर भएको बताउनुभयो । उहाँहरूले प्रस्तुत विषयमाथि आ–आफ्ना टिप्पणी तथा सुझावसमेत राख्नुभएको थियो ।
त्यसैगरी डा. विष्णुविभू घिमिरे, प्रा.डा. जीवेन्द्र गिरी, प्रा. हेमचन्द्र नेपाल, प्रा. पुरुषोत्तम दाहाल, प्रा.डा. रामप्रसाद ज्ञवाली, प्रा.डा. जगदीशचन्द्र भण्डारी, साहित्यकार नर्मदेश्वरी सत्याल, भीमानन्द ढुङ्गाना, देविका तिमल्सिना, रमेश खनाललगायतले समेत पूरक विचार राख्नुभएको थियो ।
कार्यक्रममा काठमाडौं महानगरपालिका–६ का वडाध्यक्ष भुवन लामाले विश्वेश्वरप्रसाद कोइरालाको लोकतन्त्रप्रतिको योगदानबारे चर्चा गर्दै साहित्य सदनका गतिविधिमा आफ्नो साथ र सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
साहित्य सदन नेपालका उपाध्यक्ष मित्रलाल पंज्ञानीले स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो भने सदनका सचिव प्रह्लाद पोख्रेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
प्रमुख अतिथि डा. तुलसीप्रसाद भट्टराईले कोइरालाको राजनीतिक तथा साहित्यिक योगदानमाथि प्रकाश पार्दै उहाँका आख्यानमा केन्द्रित भएर साहित्य सदनले आयोजना गरेको सङ्गोष्ठी वर्तमान सन्दर्भमा अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले अहिलेको अवस्थामा लोकतान्त्रिक स्रष्टाहरू पुनः एकजुट हुनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
सभाध्यक्ष प्रा.डा. हेमनाथ पौडेलले विश्वेश्वरप्रसाद कोइरालाको नेपाली राजनीतिमा मात्र नभई साहित्यमा समेत विशिष्ट योगदान रहेको बताउनुभयो । उहाँले पछिल्लो राजनीतिक अवस्थाप्रति जनतामा देखिएको असन्तुष्टिको चर्चा गर्दै लोकतन्त्रवादी शक्तिहरूले आत्मसमीक्षा गरी सुधारको बाटोमा अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
नेपाल अहिले राजनीतिक रूपमा दोबाटोमा रहेको उल्लेख गर्दै पौडेलले सबै लोकतान्त्रिक शक्ति एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्च आवश्यक रहेको बताउँदै उहाँले त्यसको सुरुवात साहित्यकारहरूबाटै हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
सङ्गोष्ठीमा खगेन्द्र सङ्ग्रौला, प्रा.डा. कुलप्रसाद कोइराला, प्रा. प्रयागराज वाशिष्ठ, कोशराज न्यौपाने, ईश्वरी लामिछाने, गोविन्द घिमिरे वेदमणि, मातृका पोख्रेल, गोकुल अधिकारी, प्रा.डा. नन्दीश अधिकारी, मधुसुदन पाण्डेय, शान्ता मानवी, डा. विन्दु शर्मा, डा. गीता त्रिपाठी, डा. रजनी ढकाल, डा. विदुला घिमिरे, डा. हरिप्रसाद सिलवाललगायत विशिष्ट साहित्यकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
