विशेष मूल्य समायोजन कार्यविधि स्वीकृत, निर्माण व्यवसायी महासंघद्वारा सरकारप्रति आभार
काठमाडौं,। नेपाल सरकारले विशेष मूल्य समायोजन सम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरेपछि नेपाल निर्माण व्यवसायी महासंघले सरकारप्रति हार्दिक आभार व्यक्त गरेको छ। महासंघले कार्यविधिको स्वीकृतिलाई मुलुकको पूर्वाधार क्षेत्रको सुधार र विकासका लागि ऐतिहासिक कदमका रूपमा व्याख्या गरेको छ।
सरकारले २०८३ असोज २३ गते स्वीकृत गरेको उक्त कार्यविधिले लामो समयदेखि विभिन्न समस्याबाट प्रभावित निर्माण क्षेत्रलाई गति दिन महत्वपूर्ण भूमिका खेल्ने महासंघको विश्वास छ।
महासंघका महासचिव शिवहरि घिमिरेद्वारा सोमबार जारी विज्ञप्तिमा प्रधानमन्त्री बालेन्द्र शाह, पूर्वाधार विकासमन्त्री, मन्त्रिपरिषद् तथा सम्बन्धित सचिवालयको पहल र मार्गदर्शनप्रति धन्यवाद व्यक्त गरिएको छ।
महासंघले आफ्नो नवनिर्वाचित कार्यसमितिले प्रमुख एजेन्डाका रूपमा अघि सारेको मूल्य समायोजनसम्बन्धी व्यवस्थालाई स्वीकृति प्रदान गरेकोमा सरकारप्रति कृतज्ञता व्यक्त गरेको हो। साथै, यस विषयमा आवश्यक निर्देशन र पहल गर्ने प्रतिनिधिसभाअन्तर्गतका पूर्वाधार विकास तथा अर्थ समितिका सभापति, सांसद, मुख्यसचिव, सचिव तथा विभिन्न विभागका महानिर्देशकलाई पनि धन्यवाद दिएको छ।
सार्वजनिक खरिद ऐनमा मूल्य समायोजनको व्यवस्था भए पनि त्यसको स्पष्ट कार्यान्वयनका लागि कार्यविधि स्वीकृत हुनु सकारात्मक कदम भएको महासंघको भनाइ छ। कार्यविधिको प्रभावकारी कार्यान्वयनले निर्माण व्यवसायीले भोग्दै आएका समस्या समाधान गर्न तथा पूर्वाधार आयोजनालाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
महासंघले मूल्य समायोजनको विषयलाई निरन्तर बहसमा ल्याउने सञ्चारमाध्यमप्रति पनि आभार व्यक्त गरेको छ। यसअघि महासंघसँगको सहकार्यमा सार्वजनिक खरिद (दोस्रो संशोधन) ऐन, २०८३ प्रतिनिधिसभा तथा राष्ट्रिय सभाबाट पारित भएको विषयसमेत विज्ञप्तिमा स्मरण गराइएको छ।
महासंघले आगामी दिनमा पनि सरकारसँग सहकार्य गर्दै मुलुकको पूर्वाधार क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन पहल गर्ने जनाएको छ।
स्रोत: नेपाल निर्माण व्यवसायी महासंघको विज्ञप्ति।
