छत्रदेवी मन्दिरलाई पर्यटकीय हब बनाउने नगरप्रमुख पन्थीको प्रतिबद्धता
गुल्मी । रेसुङ्गा नगरपालिका–४, खाम्सेपानीस्थित छत्रदेवी मन्दिरमा आयोजित सम्मान कार्यक्रममा नगरप्रमुख खिलध्वज पन्थीले नगरभित्रका मन्दिरमा नियमित पूजापाठको व्यवस्था गर्न पहल गर्ने, मन्दिरका संरचना निर्माणलाई प्राथमिकता दिने तथा छत्रदेवी मन्दिर क्षेत्रलाई पर्यटकीय हबका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

छत्रदेवी मन्दिर व्यवस्थापन समितिको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै नगरप्रमुख पन्थीले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र विकासमा स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले आफ्नो कार्यकालमा नगरपालिकाले सडक, खानेपानी, शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको विवरण प्रस्तुत गर्दै विकास निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाइएको उल्लेख गर्नुभयो।

कार्यक्रममा रेसुङ्गा नगरपालिका–५ का वडाध्यक्ष दुर्गा खनालले वडाभित्र रहेका मन्दिरहरूको संरक्षण र निर्माणका लागि सबै एकजुट भएर जुट्न आग्रह गर्नुभयो। धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण सामूहिक प्रयासबाट मात्रै सम्भव हुने उहाँको भनाइ थियो।
छत्रदेवी मन्दिरका पूर्व अध्यक्ष विष्णु पन्थीले मन्दिर निर्माण तथा संरक्षणको इतिहास स्मरण गर्दै विगतदेखि योगदान पुर्याउँदै आएका अग्रज पुस्तालाई सम्मान गर्ने कार्य प्रशंसनीय रहेको बताउनुभयो। युवाहरूको हातमा मन्दिरको नेतृत्व पुगेपछि आफूहरू थप उत्साहित भएको उहाँले उल्लेख गर्नुभयो।
त्यस्तै, मन्दिरका उपाध्यक्ष चुरामणि खनालले मन्दिरको बजेट न्यून रहेकाले निर्माण तथा विकासका कामलाई गति दिन विभिन्न क्षेत्रबाट आर्थिक र भौतिक सहयोगको आवश्यकता रहेको बताउनुभयो। मन्दिरको समग्र विकासका लागि स्थानीय, समाजसेवी, सहयोगदाता तथा सरोकारवाला निकायको साथ आवश्यक रहेको उहाँको भनाइ थियो।
मन्दिरका अध्यक्ष बाबुराम भण्डारीले गाउँबाट बसाइँसराइ बढ्दै जाँदा मन्दिरमा मानिसहरूको उपस्थिति घटेको र मन्दिर क्षेत्र सुनसान बन्दै गएको बताउनुभयो। विगतमा मन्दिरमा हुने धार्मिक गतिविधि र चहलपहललाई पुनः फर्काउन सबैलाई सक्रिय हुन उहाँले आग्रह गर्नुभयो।
२५ आजीवन सदस्यसहित अग्रज र पूर्व पदाधिकारी सम्मानित
कार्यक्रममा छत्रदेवी मन्दिरको विकास तथा संरक्षणमा योगदान पुर्याउँदै आएका २५ जना आजीवन सदस्यलाई सदस्यता प्रदान गर्नुका साथै सम्मान गरिएको थियो। मन्दिरलाई विभिन्न समयमा सहयोग गर्दै आएका अग्रज पुस्ता तथा निवर्तमान व्यवस्थापन समितिका पदाधिकारीहरूलाई समेत सम्मान गरिएको थियो।
धार्मिक आस्था, मौलिक संस्कृति र ऐतिहासिक सम्पदाको संरक्षण गर्दै मन्दिरको भौतिक पूर्वाधार विकास गर्ने तथा खाम्सेपानी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले आयोजित कार्यक्रमले मन्दिरको विकासमा सामूहिक सहभागिता बढाउने अपेक्षा गरिएको छ।
कार्यक्रमका अवसरमा मन्दिर व्यवस्थापन समितिले बडादसैँ, तिहार, छठ पर्व तथा नेपाल संवत् ११४७ को शुभकामना व्यक्त गर्दै सम्पूर्णमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामना गरेको छ।
हेर्नुहाेस सम्मान कार्यक्रमका तस्बिर


जय छत्रमहाराज! जय छत्रदेवी!! सबैको जय होस्!!!
