महासंघको वर्तमान कार्य समितिको अग्रसरतामा छोटो अवधिमै महत्वपूर्ण उपलब्धि : परिषद्
काठमाडौं, असोज २१ । नेपाल निर्माण उद्योग परिषद्ले नेपाल निर्माण व्यवसायी महासंघको वर्तमान कार्य समितिले छोटो अवधिमै निर्माण व्यवसायीका दीर्घकालीन समस्या समाधान तथा पूर्वाधार क्षेत्रको सुधारका लागि महत्वपूर्ण काम गरेको जनाएको छ।
परिषद्का अध्यक्ष बलिभद्र राना नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार महासंघका अध्यक्ष निकोलस पाण्डेलाई उहाँकै कार्यकक्षमा भेटी बधाई तथा सम्मान व्यक्त गरेको हो।
महासंघ अध्यक्ष पाण्डे नेतृत्वको वर्तमान कार्य समितिले पूर्वाधार क्षेत्रको समग्र सुधारका लागि देखाएको सक्रियता, दृढ इच्छाशक्ति, समन्वयकारी भूमिका तथा परिणाममुखी कार्यसम्पादनको प्रशंसा गर्दै परिषद्ले बधाईसहित सम्मान व्यक्त गरेको जनाएको छ।
परिषद्का अनुसार करिब दुई दशकदेखि निर्माण व्यवसायीहरूले उठाउँदै आएको सार्वजनिक खरिद ऐन, २०८३ संशोधनको विषयलाई निर्णायक रूपमा अघि बढाउन तथा व्यवसायीका दीर्घकालीन मागलाई कानुनी रूपमा सम्बोधन गराउन महासंघको वर्तमान कार्य समितिको महत्वपूर्ण भूमिका रहेको छ।
निर्माण व्यवसायीहरूको प्रमुख एजेण्डाका रूपमा रहेको सार्वजनिक खरिद प्रणालीमा औसत दर प्रणाली लागू हुनु पनि वर्तमान कार्य समितिको महत्वपूर्ण उपलब्धि भएको परिषद्को निष्कर्ष छ।
त्यस्तै, महासंघको पहलमा व्यवसायीमैत्री हुने गरी सार्वजनिक खरिद नियमावलीको पन्ध्रौँ तथा सोह्रौँ संशोधन हुनुका साथै नेपाल राष्ट्र बैंकबाट व्यवसायीमैत्री मौद्रिक नीति जारी भएको परिषद्ले जनाएको छ।
सार्वजनिक उत्तरदायित्वबोध गर्दै सामाजिक कार्यमा समेत महासंघको वर्तमान कार्य समितिले अर्थपूर्ण सहभागिता जनाउँदै आएको परिषद्को भनाइ छ। स्वदेशी तथा विदेशी विभिन्न मञ्चमा नेपालको पूर्वाधार क्षेत्रका एजेण्डालाई प्रभावकारी रूपमा प्रस्तुत गर्दै आएको पनि परिषद्ले जनाएको छ।
लामो समयदेखि विभिन्न प्राविधिक तथा कानुनी समस्यासँग जुधिरहेका निर्माण व्यवसायीलाई सम्बन्धित प्रदेशमै सेवा तथा समस्या समाधानमा सहजता प्रदान गर्ने उद्देश्यले सबै प्रदेशमा प्राविधिक तथा कानुनी शाखा स्थापना गर्नु पनि महासंघको वर्तमान कार्य समितिको महत्वपूर्ण उपलब्धि भएको परिषद्का अध्यक्ष बलिभद्र रानाले बताउनुभयो।
राजधानी काठमाडौंमा २०८२ चैत १९ गते सम्पन्न १३औँ अधिवेशनबाट निकोलस पाण्डेको अध्यक्षतामा नेपाल निर्माण व्यवसायी महासंघको नयाँ कार्य समिति निर्वाचित भएको थियो।
परिषद्ले वर्तमान कार्य समितिले छोटो अवधिमा निर्माण व्यवसायीका समस्या समाधान, नीतिगत सुधार तथा पूर्वाधार क्षेत्रको विकासका लागि अघि बढाएका पहललाई सकारात्मक र उपलब्धिमूलक भएको जनाएको छ।
