डिस्कभरी सपोर्ट कम्पनीद्वारा भोटेकोशी बाढीपीडितका लागि १० लाख सहयोग
काठमाडौं । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको सहयोगका लागि जापानी कम्पनी डिस्कभरी सपोर्ट कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ।

कम्पनीले आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त रकमको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो। ग्लोबल आईएमई बैंकमार्फत १० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।

विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरिएको डिस्कभरी सपोर्टले जनाएको छ।
कम्पनीका प्रमुख जापानी नागरिक मासुई सोता नेपाली समुदायप्रति उदार भावना राख्ने व्यवसायीका रूपमा परिचित छन्। उनले जापानमा रहेका नेपाली समुदायका विभिन्न सामाजिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक गतिविधिमा निरन्तर सहयोग गर्दै आएका छन्।
डिस्कभरी सपोर्टले गत वर्ष एभरेस्ट फेस्टिभल, दशैं फेस्टिभल तथा चर्चित नेपाली ब्यान्ड नेपथ्यको जापान कन्सर्ट लगायतका कार्यक्रमलाई समेत सहयोग गरेको थियो।
नेपालमा होटल तथा रेष्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएको कम्पनीले जापानमा रहेका नेपाली समुदायका सामाजिक तथा सांस्कृतिक गतिविधिमा समेत सहकार्य गर्दै आएको छ।
नेपाल र जापान दुवै देशमा व्यवसाय गर्दै आएका मासुई सोताले नेपाली समुदायसँगको सम्बन्धलाई निरन्तरता दिँदै आगामी दिनमा पनि सामाजिक तथा सांस्कृतिक क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि जापानी नागरिक तथा व्यवसायीबाट प्राप्त यो सहयोगले विपद्को समयमा मानवीय सहयोगको भावना थप बलियो बनाउनुका साथै नेपाल–जापानबीचको जनस्तरको सम्बन्धलाई समेत थप मजबुत बनाउने विश्वास गरिएको छ।
