बाढी प्रभावितका लागि निशान पोली क्लिनिकद्वारा चार लाख सहयोग
काठमाडौं, भदौ २७ । राजधानीको महाराजगञ्जस्थित निशान पोली क्लिनिक प्रा.लि.ले बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४ लाख सहयोग गरेको छ।
क्लिनिकमा कार्यरत चिकित्सक, कर्मचारी तथा व्यवस्थापन पक्षबाट संकलित उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो। सहयोग रकममा पोली क्लिनिकमा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मनबहादुर केसी तथा वरिष्ठ चर्मरोग विशेषज्ञ डा. अनिलकुमार दास लगायतको विशेष व्यक्तिगत योगदान रहेको क्लिनिकले जनाएको छ।
निशान पोली क्लिनिकले यस वर्षको तीज पर्वका अवसरमा आफ्ना कर्मचारीका लागि उपहारसहित विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरेको थियो। तर भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको विनाशकारी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि उक्त कार्यक्रम रद्द गर्दै त्यसका लागि छुट्याइएको रकम बाढी प्रभावितको सहयोगमा प्रदान गर्ने निर्णय गरिएको हो।
निशान फर्माका रूपमा रामेछापका राजनहरि दाहालले २०५१ सालमा स्थापना गरेको स्वास्थ्य संस्थालाई २०६८ सालमा विशेषज्ञ चिकित्सकको सेवा तथा अत्याधुनिक प्रयोगशालासहित निशान पोली क्लिनिकका रूपमा विस्तार गरिएको हो।
निशान पोली क्लिनिकका अध्यक्ष राजनहरि दाहालले बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विपद्मा परेका नागरिकलाई सहयोग गर्न पाउँदा संस्था गौरवान्वित भएको बताउनुभयो।
उहाँले विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु सामाजिक संस्थाहरूको साझा दायित्व भएको बताउँदै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गतका गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
