गोकर्णेश्वर नगरपालिका वडा नं. ६ को अनुदानमा कल्पतरु प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित मुक्तकीय संवाद सङ्ग्रह ‘नवनी संलाप’ एक विशेष समारोहका बिच लोकार्पण गरिएको छ।

उक्त कृति गोकर्णेश्वर नगरपालिका–६ का साहित्यकार नवराज पुडासैनी “ज्योत्स्ना” र साइप्रसमा कार्यरत साहित्यकार निर्मलादेवी तिम्सिना “कान्छी” बिच सामाजिक सञ्जालको माध्यमबाट भएका मुक्तकीय संवादहरूको सङ्ग्रह हो।
कार्यक्रमका प्रमुख अतिथि एवम् गोकर्णेश्वर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष नवराज लामाले कृति तथा कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो।
अभिनव साहित्य समाज, स्रष्टा पदयात्रा नेपाल र कल्पतरु प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष विमल अर्यालको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन उमेश तिमिल्सिनाले गर्नुभएको थियो।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाकी उपमेयर सान्नानी लामा, प्रा. डा. श्री कृष्ण प्रसाद दाहाल, अभिनव साहित्य समाजका अध्यक्ष एवम् वरिष्ठ साहित्यकार गोविन्द घिमिरे “वेदमणी”, सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष तथा सुलेख पत्रिकाका सम्पादक वरिष्ठ साहित्यकार वासुराम पौडेल, वरिष्ठ साहित्यकार गङ्गा कर्माचार्यलगायतका व्यक्तित्वहरूको विशिष्ट अतिथिको रूपमा सहभागिता रहेको थियो।
त्यस्तै, विशेष अतिथिको रूपमा साहित्यकार एवम् कलाकार रमेश पौडेल, साहित्यकार एवम् भैरव स्मृति पुस्तकालयका सचिव तथा साहित्य सदनका कोषाध्यक्ष वसन्त रिमाल उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रमको स्वागत मन्तव्य कल्पतरु त्रैमासिक पत्रिकाका संस्थापक साहित्यकार मुकुन्द अर्यालले राख्नुभएको थियो।
समारोहमा प्रमुख अतिथि नवराज लामाले प्रविधि र सामाजिक सञ्जालको सदुपयोग गर्दै वैदेशिक रोजगारीमा रहेका र स्वदेशमा रहेका स्रष्टाबिच साहित्यमार्फत जोडिएर उत्कृष्ट कृति सिर्जना हुनु प्रशंसनीय रहेको बताउनुभयो।
कार्यक्रममा विभिन्न साहित्यिक व्यक्तित्व, समाजसेवी तथा स्थानीय महानुभावहरूको बाक्लो उपस्थिति रहेको थियो।
