बाढीपीडितका लागि ओशो तपोवनद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५१ हजार सहयोग

काठमाडौं — हालै नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै ओशो तपोवनले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १५ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
तपोवनका संस्थापक बोधिसत्व स्वामी आनन्द अरुणको नेतृत्वमा संन्यासीहरूको प्रतिनिधिमण्डलले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेको हो।
चेक हस्तान्तरणका क्रममा स्वामी आनन्द अरुणले विपत्तिको यस कठिन घडीमा तपोवन बाढी तथा पहिरो प्रभावित नागरिकहरूको साथमा रहेको बताउनुभयो। उहाँले प्राकृतिक विपत्तिमा घर, जीविकोपार्जन तथा आफन्त गुमाएका परिवारप्रति करुणा र मानवीय संवेदना व्यक्त गर्नुभयो।
उहाँले विपत्तिको समयमा करुणा केवल शब्दमा सीमित नरही व्यवहारमा देखिनुपर्ने बताउँदै सहयोगलाई साझा मानवता र सेवाभावको प्रयासका रूपमा लिनुपर्ने उल्लेख गर्नुभयो।
भेटका क्रममा स्वामी आनन्द अरुणले अर्थमन्त्री वाग्लेलाई ओशोका पुस्तकहरूसमेत प्रदान गर्नुभएको थियो।
