जलवायु न्याय दान होइन, जिम्मेवारी हो : अध्यक्ष पाण्डे
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले जलवायु परिवर्तनका कारण नेपालले ठूलो मूल्य चुकाइरहेको बताएका छन्।
पाण्डेले सामाजिक सञ्जालमार्फत हिमनदीहरू तीव्र गतिमा पग्लिँदै गएको उल्लेख गर्दै जलवायु संकटप्रति विश्व समुदायले अब ढिला गर्न नहुने बताएका हुन्।
विश्वव्यापी कार्बन उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष असर नेपालले भोगिरहेको उनको भनाइ छ। हिमनदीहरू हराउँदै जाँदा जनधन, पूर्वाधार तथा नागरिकको जीविकोपार्जनमा समेत गम्भीर क्षति भइरहेको उनले उल्लेख गरेका छन्।
नेपालले सीमित स्रोतसाधनका बाबजुद जलवायु संरक्षणमा आफ्नो जिम्मेवारी पूरा गरिरहेको दाबी गर्दै पाण्डेले नेपालको करिब ९८ प्रतिशत विद्युत् स्वच्छ जलविद्युत्बाट उत्पादन हुने र विद्युतीय सवारीसाधनको प्रयोगमा समेत नेपाल अग्रणी देशहरूमध्ये रहेको बताएका छन्।
उनले जलवायु न्यायलाई दान नभई जिम्मेवारी र जवाफदेहिताको विषयका रूपमा लिनुपर्नेमा जोड दिएका छन्। जलवायु परिवर्तनका लागि बढी जिम्मेवार राष्ट्रहरूले नेपालजस्ता जलवायु जोखिममा रहेका मुलुकलाई आवश्यक वित्तीय स्रोत, प्रविधि तथा क्षमता विकासमा सहयोग गर्नुपर्ने पाण्डेको माग छ।
“हिमनदीहरूले पर्खँदैनन्। अब विश्वले पनि ढिला गर्नु हुँदैन,” पाण्डेको भनाइ छ।
