अरुणिमा–रमेश विकल अन्तर विद्यालयस्तरीय बाल चित्रकला प्रतियोगिता सम्पन्न
काठमाडौं, भदौ २१ । विद्यार्थीहरूको उत्साहजनक सहभागिताबीच गोकर्णेश्वर नगरपालिका–९, आरुबारीस्थित नव अरुणिमा माध्यमिक विद्यालयमा अरुणिमा–रमेश विकल अन्तर विद्यालयस्तरीय स्थलगत बाल चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।

वरिष्ठ आख्यानकार तथा कुशल चित्रकार रमेश विकलको स्मृतिमा आयोजित प्रतियोगितामा कक्षा ६ देखि १० सम्म अध्ययनरत २९ विद्यालयका ५६ जना विद्यार्थी सहभागी भएका थिए।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति के.के. कर्माचार्य प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा अरुणिमा शैक्षिक प्रतिष्ठानका अध्यक्ष भिमानन्द ढुंगाना, नव अरुणिमा माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोपालप्रसाद बराललगायतले प्रतियोगिताको पृष्ठभूमि र उद्देश्यबारे प्रकाश पार्नुभएको थियो।
त्यस्तै, अरुणिमा शैक्षिक प्रतिष्ठानका कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछाने, रमेश विकल साहित्य प्रतिष्ठानका सचिव आलोक चालिसे, गोकर्णेश्वर नगरपालिका–९ का वडा अध्यक्ष राजीव थापालगायतको उपस्थिति रहेको थियो।
प्रतियोगितामा सहभागी विद्यार्थीका चित्रहरूको मूल्याङ्कन सिर्जना कलेज अफ फाइन आर्ट्सका प्राध्यापक कृष्णगोपाल श्रेष्ठ र भिजुअल आर्टिस्ट सम्झना राजभण्डारीले गर्नुभएको थियो।

प्रतियोगितामा जिनियस इङ्लिस स्कुलकी सम्झना तामाङ प्रथम, अरुणिमा माविकी स्वीकृति तामाङ द्वितीय, शिक्षालय नेपालका युजधोज थापा तृतीय र हिमशृंखला एकेडेमीकी रश्मि श्रेष्ठ चतुर्थ हुनुभयो। यस्तै, द सेलिब्रेसन को–एडका लोमस पुडासैनीले निर्णायक प्रोत्साहन पुरस्कार प्राप्त गर्नुभयो।
विजयी विद्यार्थीहरूलाई प्रमाणपत्र, ट्रफी तथा मेडलसहित पुरस्कार वितरण गरिएको थियो।

अरुणिमा शैक्षिक प्रतिष्ठानका अध्यक्ष भिमानन्द ढुंगानाले प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिनुभयो।
