साउन १५, काठमाडौं।
नेपाल निर्माण व्यवसायी महासंघले सुनसरी, सिरहा, धनुषा, सप्तरी लगायतका जिल्लाहरूमा पछिल्ला दिनमा भएका झडपका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति कायम गर्न सबै पक्षसँग अपील गरेको छ।
महासंघका अध्यक्ष निकोलस पाण्डेले शुक्रबार जारी गरेको अपीलमा झडपका घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
अपीलमा नेपाली समाज परापूर्वकालदेखि नै विविधताबीचको एकता, आपसी सद्भाव र सहकार्यको भावनामा आधारित रहेको उल्लेख गर्दै कुनै पनि बहानामा हुने हिंसा, झडप तथा मुठभेडका घटनाले मुलुकको सामाजिक सद्भाव र गौरवशाली परम्परामाथि गम्भीर असर पार्ने जनाइएको छ।
महासंघले आफ्नो मातहतका सातै प्रदेश तथा ७७ जिल्लामा रहेका सदस्यहरूलाई सामाजिक सद्भाव कायम राख्न र धार्मिक सहिष्णुता प्रवर्द्धन गर्न आ–आफ्नो क्षेत्रबाट सकारात्मक तथा रचनात्मक भूमिका निर्वाह गर्न आग्रह गरेको छ।
त्यस्तै, सामाजिक एकता र स्थायी शान्तिबाट मात्र मुलुकको आर्थिक समृद्धि सम्भव हुने उल्लेख गर्दै नेपाल सरकार, राजनीतिक दल, स्थानीय समुदाय, नागरिक समाज, विभिन्न पेशा–व्यवसायका प्रतिनिधि, बुद्धिजीवी तथा सञ्चार जगतलाई संवाद र सहकार्यमार्फत शान्तिपूर्ण वातावरण निर्माणमा योगदान दिन महासंघले अनुरोध गरेको छ।
महासंघका अध्यक्ष पाण्डेले सबै पक्षलाई वार्ता र संवादमार्फत समस्याको समाधान खोज्न आग्रह गर्दै सामाजिक सद्भाव, शान्ति र सहिष्णुता कायम राख्न सबैको साझा जिम्मेवारी रहेको बताएका छन्।