उपयुक्त दररेटमा मात्र बोलपत्र पेश गर्न निर्माण व्यवसायीलाई महासंघको आग्रह
नेपाल निर्माण व्यवसायी महासंघले वर्तमान विषम आर्थिक तथा निर्माण क्षेत्रको चुनौतीपूर्ण अवस्थालाई ध्यानमा राख्दै आफ्ना सदस्य निर्माण व्यवसायीहरूलाई उपयुक्त दररेटमा मात्र बोलपत्र (बिड) पेश गर्न आग्रह गरेको छ।
महासंघका अनुसार हाल विभिन्न निकायबाट आह्वान गरिएका ठेक्काहरूको लागत अनुमान (इस्टिमेट) अझै पुरानै जिल्ला दररेटका आधारमा तयार गरिएको छ। अर्कोतर्फ इन्धन, बिटुमिन तथा अन्य निर्माण सामग्रीको मूल्यमा भएको उल्लेखनीय वृद्धि र सामग्री आपूर्तिमा देखिएको असहज अवस्थाले न्यून दरमा बोलपत्र पेश गर्ने व्यवसायीहरू भविष्यमा आर्थिक, कानुनी तथा प्राविधिक जोखिममा पर्न सक्ने अवस्था सिर्जना भएको जनाएको छ।
महासंघका महासचिव शिवहरि घिमिरे ले परियोजनाको स्थलगत निरीक्षण, बोलपत्र सम्बन्धी कागजातको गहन अध्ययन तथा आर्थिक जोखिमको विश्लेषणपछि मात्रै आफ्नो वास्तविक क्षमता र गुणस्तरीय निर्माण कार्य समयमै सम्पन्न गर्न सकिने दररेटमा बोलपत्र पेश गर्न व्यवसायीहरूलाई आग्रह गरेका छन्।
त्यस्तै, महासंघका प्रवक्ता तथा नीतिगत उपाध्यक्ष मंगलबहादुर शाही का अनुसार मध्यपूर्वमा जारी युद्धका कारण गत फेब्रुअरी २८ यता इन्धन, बिटुमिन लगायत निर्माण सामग्रीको मूल्य अप्रत्याशित रूपमा बढेको छ। यसले पूर्वाधार निर्माण क्षेत्रलाई गम्भीर असर पुर्याएको उनले बताए।
शाहीका अनुसार मूल्यवृद्धिको अनुपातमा सार्वजनिक खरिद ऐन, नियमावली तथा नेपाल राष्ट्र बैंकको सूचकांकअनुसार निर्माण व्यवसायीले पाउनुपर्ने मूल्य समायोजन (Price Adjustment) समयमै प्राप्त हुन नसक्दा व्यवसायीहरू आर्थिक संकटमा परिरहेका छन्। यही कारणले भविष्यमा हुने थप क्षतिबाट जोगिन व्यवसायीहरूले यथार्थपरक र उपयुक्त दररेटमा मात्र बोलपत्र पेश गर्न महासंघले विशेष आग्रह गरेको जनाएको छ।
