तोकिएको समयअघि गुणस्तरीय निर्माण सम्पन्न गर्ने महासंघका उपाध्यक्ष प्रकाशबहादुर सेटीलाई प्रहरी महानिरीक्षक कार्कीद्वारा सम्मान
साउन ११, काठमाडौं ।
तोकिएको समयभन्दा अगावै गुणस्तरीय निर्माण कार्य सम्पन्न गर्दै उदाहरणीय कार्यसम्पादन गरेका नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष तथा रोयल कन्स्ट्रक्सनका सञ्चालक प्रकाशबहादुर सेटी सम्मानित भएका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरमा निर्माण सम्पन्न भएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र र प्रहरी आवास भवन निर्धारित समयभन्दा अगावै उच्च गुणस्तरसहित सम्पन्न गरेको योगदानको कदर गर्दै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सेटीलाई सम्मान गरेका हुन्।
बेलायत सरकारको सहयोगमा सञ्चालित एसजेपी (SJP) कार्यक्रमअन्तर्गत यूएनओपीएस (UNOPS) मार्फत निर्माण गरिएका प्रहरी संरचनाहरूमा सेटीको नेतृत्वमा रहेको रोयल कन्स्ट्रक्सनले समयमै तथा गुणस्तरीय निर्माण सम्पन्न गर्दै आएको छ। यसअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रसहित विभिन्न प्रहरी कार्यालयका भवनहरू सफलतापूर्वक निर्माण भएका छन्।
यसअघि पनि सेटीको कम्पनीले सुर्खेतको छिन्चु, कैलालीको मसुरिया र सत्ती, बाँकेको वेतानी र कोहलपुर, दाङको गडुवा, रूपन्देहीको बुटवल, पर्सा जिल्ला प्रहरी कार्यालय, सप्तरीको कञ्चनपुर, विराटनगर, इनरुवा तथा सुनसरी लगायतका विभिन्न स्थानमा प्रहरी भवन निर्माणको जिम्मेवारी सफलतापूर्वक पूरा गर्दै करिब नौवटा भवन समयमै हस्तान्तरण गरिसकेको छ।
सम्मान ग्रहणपछि महासंघका उपाध्यक्ष सेटीले सार्वजनिक पूर्वाधार निर्माणमा समयपालन, गुणस्तर र व्यावसायिक प्रतिबद्धतालाई सर्वोच्च प्राथमिकतामा राख्दै आगामी दिनमा पनि जिम्मेवारीलाई अझ प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
निर्माण क्षेत्रमा समयमै गुणस्तरीय परियोजना सम्पन्न गर्ने व्यवसायीका रूपमा परिचित सेटी यसअघि पनि विभिन्न सरकारी तथा सार्वजनिक निकायबाट सम्मानित भइसकेका छन्। सफल निर्माण व्यवसायीका रूपमा स्थापित उनले सामाजिक सेवामा समेत सक्रिय भूमिका निर्वाह गर्दै समाजमा सकारात्मक योगदान पुर्याउँदै आएका छन्।
