तम्घास बजार जोगाउँदै मदन भण्डारी राजमार्ग निर्माण अघि बढाउने पहल, मेयर पन्थीद्वारा मन्त्री लम्सालसँग अनुरोध
साउन १२, काठमाडौं।
रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले निर्माणाधीन रिडी–तम्घास मदन भण्डारी राजमार्गको रेखाङ्कनका क्रममा तम्घास बजार क्षेत्रलाई जोगाउँदै सडक निर्माण कार्य अगाडि बढाउन पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग भेट गरी अनुरोध गरेका छन्।
आज मन्त्रालयमा भएको भेटवार्तामा मेयर पन्थीले तम्घास बजारको ऐतिहासिक, आर्थिक तथा सामाजिक महत्वलाई ध्यानमा राख्दै बजारलाई संरक्षण गर्ने गरी सडक निर्माणको विकल्प खोज्न आग्रह गरेका थिए।
छलफलका क्रममा मन्त्री लम्सालले तम्घास बजार क्षेत्रलाई संरक्षण गर्ने विषयमा सैद्धान्तिक सहमति जनाउँदै विकास र सम्पदा संरक्षणलाई सन्तुलित रूपमा अघि बढाइने बताएका छन्।
भेटमा रेसुङ्गा नगरपालिकाले प्रस्ताव गरेको वैकल्पिक बाइपास सडकको सिफारिसलाई आधार मानी तत्काल विस्तृत अध्ययन, आवश्यक प्राविधिक प्रक्रिया तथा कार्यान्वयनका तयारी अगाडि बढाउने सहमति पनि भएको छ।
मेयर पन्थीले तम्घास बजार जोगाउँदै राजमार्ग निर्माण अघि बढाउन सकिए स्थानीय नागरिक, व्यवसायी तथा समग्र गुल्मी जिल्लाको दीर्घकालीन हित सुनिश्चित हुने विश्वास व्यक्त गरेका छन्।
यस पहलले विकाससँगै ऐतिहासिक बजारको संरक्षण गर्ने उद्देश्यलाई बल पुर्याउने अपेक्षा गरिएको छ।
