पूर्वाधार विकासका सरकारी निर्णयको स्वागत, जिम्मेवार भएर काम गर्न निर्माण व्यवसायीलाई आग्रह
साउन ६, घोराही । नेपाल निर्माण व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष रामजी पन्त ‘मुकेश’ ले पूर्वाधार क्षेत्रको विकासलाई गति दिने उद्देश्यले वर्तमान सरकारले गरेका पछिल्ला नीतिगत तथा कानुनी निर्णयहरूको स्वागत गरेका छन्।
दाङको घोराहीमा बुधबार आयोजित लुम्बिनी प्रदेश निर्माण व्यवसायी महासंघको छैटौं साधारण सभा तथा तेस्रो अधिवेशन लाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उनले सार्वजनिक खरिद ऐन (दोस्रो संशोधन), सार्वजनिक खरिद नियमावलीको १५औं संशोधन तथा राष्ट्र बैंकको नयाँ मौद्रिक नीतिले निर्माण उद्योगमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
कार्यवाहक अध्यक्ष पन्तले सार्वजनिक खरिद ऐनको दोस्रो संशोधनलाई निर्माण उद्योगका लागि कोशेढुंगा भएको उल्लेख गर्दै ‘लो बिडिङ’ प्रणालीको अन्त्य गरी औसत मूल्यका आधारमा ठेक्का दिने व्यवस्थाले पूर्वाधार क्षेत्रमा देखिएका धेरै समस्या समाधान हुने बताए।
उनका अनुसार संशोधित ऐनमा बजेट विनियोजन वा स्रोत सुनिश्चित नभई खरिद प्रक्रिया सुरु गर्न नपाइने, जग्गा प्राप्ति, मुआब्जा वितरण, निर्माणस्थल उपलब्धता तथा वातावरणीय स्वीकृति पूरा भएपछि मात्र बोलपत्र आह्वान गरिने व्यवस्था गरिएको छ। साथै, स्वीकृत मापदण्डअनुसार लागत अनुमान तयार गर्नुपर्ने, नियोक्ता, निर्माण व्यवसायी, आपूर्तिकर्ता र परामर्शदाताको जिम्मेवारी स्पष्ट तोकिने, समयमै गुणस्तरीय काम सम्पन्न गर्ने कर्मचारीलाई बोनस तथा प्रोत्साहन उपलब्ध गराइने र उत्कृष्ट निर्माण व्यवसायीलाई समेत प्रशंसापत्रसहित प्रोत्साहन गर्ने व्यवस्था स्वागतयोग्य रहेको उनले बताए।
निर्माण व्यवसायी आर्थिक रूपमा इतिहासकै कठिन अवस्थाबाट गुज्रिरहेका बेला सार्वजनिक खरिद नियमावलीको १५औं संशोधनमार्फत म्याद थपको व्यवस्था सुनिश्चित गरिएको भन्दै उनले सरकारप्रति आभार व्यक्त गरे। राष्ट्र बैंकले हालै जारी गरेको मौद्रिक नीति र त्यसअनुसारका निर्देशनले निर्माण उद्योगलाई पुनः चलायमान बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।
कार्यवाहक अध्यक्ष पन्तले महासंघको वर्तमान नेतृत्व निर्माण व्यवसायीमैत्री हुने गरी निर्माण व्यवसायी ऐन, २०५५ संशोधनका लागि सक्रिय रूपमा काम गरिरहेको जानकारी दिए। सरकारले पूर्वाधार क्षेत्रलाई उच्च प्राथमिकता दिँदै महत्वपूर्ण निर्णय गरिरहेको उल्लेख गर्दै उनले निर्माण व्यवसायीहरूलाई पनि जिम्मेवारीपूर्वक, गुणस्तरीय र समयमै काम सम्पन्न गर्न आग्रह गरे।
उनले महासंघलाई प्रविधिमैत्री, पारदर्शी, उत्तरदायी र आधुनिक संस्थाका रूपमा विकास गर्ने अभियान तीव्र रूपमा अघि बढाइएको जानकारी दिँदै डिजिटल प्रणाली विस्तार, अनलाइन सेवा प्रवर्द्धन, सूचना प्रविधिको प्रभावकारी प्रयोग तथा संस्थागत सुशासनलाई प्राथमिकतामा राखेर महासंघलाई समयानुकूल र परिणाममुखी संस्थाका रूपमा स्थापित गरिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रम लुम्बिनी प्रदेश निर्माण व्यवसायी महासंघका अध्यक्ष बलिभद्र रानाको अध्यक्षतामा सम्पन्न भएको थियो।
