निर्माण क्षेत्रका समस्या समाधानमा सरकार सकारात्मक : प्रधानमन्त्री बालेन शाह
काठमाडौं । सम्माननीय प्रधानमन्त्री श्री वालेन्द्र शाहले निर्माण क्षेत्रका विद्यमान समस्या, निर्माण व्यवसायको प्रवर्द्धन, भौतिक पूर्वाधार विकास, लगानी वातावरण सुधार तथा आर्थिक गतिविधिलाई चलायमान बनाउने विषयमा आज निर्माण व्यवसायीका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना तथा पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस क्षेत्रमा देखिएका व्यावहारिक समस्याको समाधानका लागि सरकार सकारात्मक रहेको बताउनुभयो।
उहाँले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका काम निर्धारित समयमै सम्पन्न गर्न सरकार, निजी क्षेत्र तथा सम्बन्धित सबै पक्षबीच सक्रिय र प्रभावकारी सहकार्य अपरिहार्य रहेकोमा जोड दिनुभयो।
छलफलमा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी हुनुहुन्थ्यो।
निर्माण व्यवसायीहरूले भुक्तानीमा हुने ढिलाइ, म्याद थप, ठेक्का व्यवस्थापन, समयमै आयोजना कार्यान्वयन, मूल्य समायोजन, बैंकिङ सुविधा तथा लगानीसम्बन्धी चुनौतीबारे प्रधानमन्त्री शाहलाई जानकारी गराउनुभएको थियो। साथै, निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा उहाँहरूले व्यक्त गर्नुभयो।
छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र तथा प्रमुख स्वकीय सचिव सुवास शर्मा लगायतको उपस्थिति रहेको थियो।
