ललितपुर महानगरपालिकाको बजेट ७ अर्ब ४८ करोडभन्दा बढी
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
बुधबार आयोजित महानगरपालिकाको नवौं नगरसभामा महानगर प्रमुख चिरिबाबु महर्जनले उक्त बजेट प्रस्तुत गरेका हुन्। चालु आर्थिक वर्ष २०८२/८३ का लागि महानगरपालिकाले ७ अर्ब ४७ करोड ४१ लाख रुपैयाँको बजेट ल्याएको थियो।
आगामी आर्थिक वर्षका लागि चालुतर्फ ३ अर्ब २५ करोड १८ लाख ५३ हजार रुपैयाँ विनियोजन गरिएको छ, जुन चालु आर्थिक वर्षको तुलनामा ९ प्रतिशतले बढी हो। यस्तै, पूँजीगततर्फ ४ अर्ब २३ करोड ६९ लाख २७ हजार रुपैयाँ छुट्याइएको छ। चालु आर्थिक वर्षमा पूँजीगत बजेट ४ अर्ब ५० करोड ७७ लाख २९ हजार रुपैयाँ रहेकोमा आगामी वर्षका लागि यो रकम करिब ६ प्रतिशतले घटाइएको छ।
स्रोत व्यवस्थापनतर्फ संघीय सरकारबाट १ अर्ब ३६ करोड ५३ लाख ९० हजार रुपैयाँ तथा बागमती प्रदेश सरकारबाट १७ करोड ६३ लाख ९० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
त्यस्तै, आन्तरिक राजस्व, मालपोत दर्ता शुल्क, मनोरञ्जन करलगायतका शीर्षकबाट ३ अर्ब ३५ करोड ५० लाख रुपैयाँ संकलन हुने प्रक्षेपण गरिएको छ। विकास निर्माणमा जनसहभागितामार्फत ६ करोड रुपैयाँ प्राप्त हुने अपेक्षा महानगरपालिकाको छ।
अन्तर-सरकारी अख्तियारीमार्फत १ अर्ब ६ करोड २० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ भने बजेट कार्यान्वयनका लागि अपुग हुने १ अर्ब ४७ करोड रुपैयाँ नगद मौज्दातबाट व्यवस्थापन गरिने उल्लेख गरिएको छ।
