रेसुङ्गा नगरपालिका–५ भुवनपानीमा अवस्थित श्री जनसहयोग माध्यमिक विद्यालय ले कक्षा १२ को नतिजामा उत्कृष्ट सफलता हासिल गरेको छ। रेसुङ्गा नगरपालिकाले सार्वजनिक गरेको नतिजाअनुसार विद्यालयबाट परीक्षामा सहभागी १८ जना विद्यार्थीमध्ये १५ जना उत्तीर्ण भएका छन् भने विद्यालयको उत्तीर्ण प्रतिशत ८३.३३ रहेको छ।
विद्यालयले सामुदायिक विद्यालयहरूमध्ये उत्कृष्ट प्रदर्शन गर्दै उच्चतम GPA ३.५८ हासिल गरेको जनाएको छ। सीमित स्रोत–साधनका बीच शिक्षक, विद्यार्थी तथा अभिभावकको संयुक्त प्रयासका कारण विद्यालयले यो सफलता प्राप्त गरेको हो।
गुणस्तरीय शिक्षालाई प्राथमिकता दिँदै आएको जनसहयोग माध्यमिक विद्यालयले पछिल्ला वर्षहरूमा शैक्षिक सुधार, अनुशासन तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा विशेष ध्यान दिँदै आएको छ। जसको सकारात्मक परिणाम कक्षा १२ को नतिजामा समेत देखिएको विद्यालय प्रशासनको भनाइ छ।
विद्यालयको यो उपलब्धिले सम्पूर्ण विद्यालय परिवारमा उत्साह थपेको छ भने आगामी वर्षहरूमा अझ उत्कृष्ट नतिजा हासिल गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। सामुदायिक विद्यालयप्रति बढ्दो विश्वास र निरन्तर मेहनतले जनसहयोग माविलाई रेसुङ्गा नगरपालिकाको एक सफल शैक्षिक संस्थाका रूपमा स्थापित गराउँदै लगेको छ।
