मानव कल्याणका लागि काठमाडौंमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुँदै
काठमाडौं । मानव सेवा, सामाजिक उत्तरदायित्व र आध्यात्मिक चेतनाको विकास गर्ने उद्देश्यले काठमाडौंमा ‘मानव कल्याणका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ–२०८३’ आयोजना हुने भएको छ।
लायन्स क्लब अफ काठमाडौं परोपकारको आयोजनामा हुन लागेको उक्त महायज्ञ आगामी असार ८ गतेदेखि १५ गतेसम्म सञ्चालन हुनेछ। पशुपति क्षेत्रस्थित सुमार्गी भवन परिसरमा आयोजना हुने महायज्ञमार्फत धार्मिक जागरणसँगै समाजका विपन्न, असहाय तथा आवश्यकतामा रहेका नागरिकहरूको सहयोगका लागि स्रोत संकलन गरिने आयोजकले जनाएको छ।
आयोजक समितिले सार्वजनिक गरेको अवधारणापत्रअनुसार नेपाली समाजमा बढ्दो भौतिकवाद, नैतिक मूल्य–मान्यताको ह्रास तथा सामाजिक असमानताका बीच धार्मिक, सांस्कृतिक र मानवीय चेतनाको विकास अपरिहार्य बनेको छ। यस्ता चुनौतीलाई सम्बोधन गर्न धर्म, ज्ञान, भक्ति, सेवा र परोपकारका भावनालाई प्रवर्द्धन गर्दै मानव कल्याणका कार्यक्रम सञ्चालन गर्ने लक्ष्यसहित महायज्ञ आयोजना गर्न लागिएको हो।
महायज्ञका प्रमुख कथावाचक पुज्य देवी सुमी मानव रहनुहुनेछ। कार्यक्रम संयोजक तथा लायन्स क्लब अफ काठमाडौं परोपकारकी संस्थापक अध्यक्ष पवित्रा खरेल पाण्डेका अनुसार धार्मिक कार्यक्रमलाई सामाजिक सेवासँग जोडेर मानव कल्याणको अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्य रहेको छ।
महायज्ञ अवधिभर श्रीमद्भागवत कथा वाचन, दैनिक भजन–कीर्तन, धार्मिक अनुष्ठान, सामूहिक पूजा तथा आरती, सांस्कृतिक प्रस्तुति र दाता तथा सहयोगी सम्मान कार्यक्रम सञ्चालन गरिनेछ। यसका साथै समाजमा धार्मिक तथा नैतिक चेतनाको विकास, सामाजिक सद्भाव अभिवृद्धि तथा सेवा संस्कृतिको विस्तारमा विशेष जोड दिइने जनाइएको छ।
आयोजकका अनुसार महायज्ञबाट संकलित सहयोग रकम शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवासम्बन्धी कार्यक्रम सञ्चालनमा खर्च गरिनेछ। आर्थिक रूपमा कमजोर परिवार, ज्येष्ठ नागरिक, असहाय तथा आधारभूत आवश्यकता र सेवाबाट वञ्चित समुदायलाई सहयोग पुर्याउने लक्ष्य राखिएको छ।
महायज्ञमार्फत धार्मिक तथा आध्यात्मिक चेतनाको अभिवृद्धि, मानव सेवाप्रतिको उत्तरदायित्वको भावना विस्तार, विभिन्न सामाजिक संघसंस्था तथा व्यक्तिहरूबीच सहकार्यको वातावरण निर्माण तथा सामाजिक सेवामूलक अभियानका लागि आवश्यक स्रोत संकलन हुने अपेक्षा गरिएको छ।
महायज्ञको आय–व्यय तथा प्राप्त सहयोगको विवरण पारदर्शी रूपमा सार्वजनिक गरिने आयोजकले जनाएको छ। ‘परोपकारको महाअभियान, मानव कल्याणका लागि हाम्रो सामूहिक योगदान’ भन्ने मूल नारासहित सञ्चालन हुने उक्त कार्यक्रममा समाजका विभिन्न क्षेत्रका व्यक्तित्व, समाजसेवी, उद्योगी, व्यवसायी, पत्रकार तथा सर्वसाधारण नागरिकलाई सहभागी हुन आयोजकले आग्रह गरेको छ।
