ललितपुर महानगरमा ‘ई-चलान’ प्रणाली सुरु, अब सबै जरिवाना अनलाइनबाट तिर्न सकिने
काठमाडौं, असार १ – ललितपुर महानगरपालिकाले डिजिटल प्रविधिमार्फत सेवा प्रवाहलाई थप सहज बनाउने उद्देश्यले ‘एलएमसी ई-चलान’ प्रणाली सञ्चालनमा ल्याएको छ। सोमबारदेखि लागू गरिएको उक्त प्रणालीमार्फत महानगरसँग सम्बन्धित सबै प्रकारका जरिवाना शुल्क अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको हो।
नयाँ प्रणाली लागू भएसँगै अनधिकृत पार्किङलगायत विभिन्न कसुरमा जरिवानामा परेका व्यक्तिले तत्काल क्यूआर कोड स्क्यान गरेर शुल्क तिर्न सक्नेछन्। आवश्यक क्यूआर कोड नगर प्रहरीले उपलब्ध गराउने व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ।
यसअघि जरिवाना तिर्न बैंक वा महानगरको कार्यालयमै पुग्नुपर्ने बाध्यता रहेकामा अब भने घटनास्थलबाटै डिजिटल माध्यममार्फत भुक्तानी गर्न सकिनेछ।
महानगर प्रमुख चिरिबाबु महर्जनले नागरिकलाई सहज, छिटो र प्रविधिमैत्री सेवा उपलब्ध गराउने लक्ष्यका साथ ई-चलान प्रणाली सुरु गरिएको बताए। उनका अनुसार अनधिकृत पार्किङ, जथाभावी फोहोर फाल्ने, अनुमतिबिना खुला स्थानमा आगो बाल्ने, सार्वजनिक बगैँचा, फूल तथा बिरुवामा क्षति पुर्याउने लगायतका गतिविधिमा लगाइने जरिवाना अब क्यूआरमार्फत तिर्न सकिनेछ।
महानगरपालिकाले यो प्रणालीले पारदर्शिता बढाउनुका साथै जरिवाना संकलन प्रक्रियालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।
