निर्माण सामग्री, इन्धन र ढुवानी खर्चमा भएको तीव्र मूल्यवृद्धिको विरोध गर्दै नेपाल निर्माण व्यवसायी महासंघ ले सरकारविरुद्ध चरणबद्ध आन्दोलन सुरु गरेको छ।

महासंघले पश्चिम एसियामा जारी द्वन्द्वका कारण निर्माण क्षेत्रमा ठूलो आर्थिक दबाब परेको भए पनि सरकारले समस्या समाधानमा चासो नदेखाएको आरोप लगाएको छ। बिहीबार महासंघका प्रतिनिधिले सडक विभाग र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतका निकायमा ज्ञापनपत्र बुझाउँदै आधा घण्टा धर्ना दिएका छन्।

महासंघअन्तर्गत रहेका ७७ जिल्लाका निर्माण व्यवसायी संघहरूले पनि प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्। लागत अत्यधिक बढेकाले निर्माण कार्य सञ्चालन गर्न कठिन भएको महासंघका महासचिव शिवहरि घिमिरे ले बताएका छन्।
महासंघले शुक्रबार, सोमबार र आगामी दिनहरूमा प्रदेश तथा जिल्लास्तरका पूर्वाधार कार्यालयहरूमा पनि विरोध कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। सातै प्रदेशमा मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएर धर्ना दिने कार्यक्रमसमेत तय गरिएको महासंघका प्रवक्ता मंगलबहादुर शाही ले जानकारी दिएका छन्।
Highlight
-
निर्माण सामग्री, इन्धन र ढुवानी खर्चमा चर्को मूल्यवृद्धि
-
नेपाल निर्माण व्यवसायी महासंघको देशव्यापी चरणबद्ध आन्दोलन सुरु
-
७७ जिल्लामा ज्ञापनपत्र र आधा घण्टा धर्ना
-
निर्माण उद्योग संकटमा पुगेको व्यवसायीहरूको चेतावनी
-
सरकारलाई तत्काल हस्तक्षेप गर्न माग
