राष्ट्रिय सभा सदस्य विष्णु सापकोटाद्वारा कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
राष्ट्रिय सभा सदस्य विष्णु सापकोटाद्वारा कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
गुल्मी । गुल्मीको मुसिकोटकी नेतृ तथा राष्ट्रिय सभा सदस्य विष्णु सापकोटाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।
बाल्यकालदेखि नै नेपाली कांग्रेसको नीति, विचार, सिद्धान्त तथा लोकतान्त्रिक मूल्य–मान्यताप्रति समर्पित रहँदै आउनुभएकी सापकोटाले विद्यार्थी राजनीतिबाट सुरु भएको आफ्नो राजनीतिक यात्रालाई पार्टीको केन्द्रीय नेतृत्वसम्म पुर्याउने संकल्पसहित उम्मेदवारी घोषणा गर्नुभएको हो।
विद्यालय तहदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय सापकोटाले पद्मकन्या क्याम्पस, पाटन क्याम्पस तथा नेपाल ल क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) मार्फत नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ। लामो समय पार्टी संगठनमा सक्रिय रहेकाले उहाँलाई संगठन निर्माणको अनुभव भएको नेतृका रूपमा लिइन्छ।
आफ्नो राजनीतिक यात्राबारे सापकोटाले जीवनका धेरै कुरा त्यागेर निरन्तर पार्टी र लोकतन्त्रका लागि काम गर्दै आएको बताउनुभयो।
“मैले जीवनका धेरै कुरा त्यागेर निरन्तर पार्टी र लोकतन्त्रका लागि काम गर्दै आएकी छु। नेपाल महिला संघ गुल्मीको निर्वाचित सभापतिका रूपमा लगातार दुई कार्यकाल अर्थात् १० वर्ष जिम्मेवारी सम्हालेर महिला सशक्तीकरण र संगठन सुदृढीकरणमा योगदान गरेँ,” उहाँले भन्नुभयो।
सापकोटाले नेपाली कांग्रेस गुल्मीको सचिवको जिम्मेवारीसमेत सफलतापूर्वक पूरा गरिसक्नुभएको छ। उहाँ हाल नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन समिति सदस्यका रूपमा कार्यरत हुनुहुन्छ। राष्ट्रिय सभा सदस्यका रूपमा समेत उहाँले भूमिका निर्वाह गर्दै आउनुभएको छ।
राजनीतिक निरन्तरता, त्याग र योगदानको मूल्याङ्कन गर्ने अन्तिम जिम्मेवारी महाधिवेशन प्रतिनिधिहरूको रहेको बताउँदै सापकोटाले यसपटक केन्द्रीय सदस्यमा निर्वाचित हुने लक्ष्यसहित आफूलाई प्रस्तुत गरेको बताउनुभयो।
“केन्द्रीय सदस्यमा एकपटक, यसैपटक भन्ने संकल्पका साथ मैले आफूलाई प्रस्तुत गरेकी छु। अब यसको अन्तिम फैसला आदरणीय महाधिवेशन प्रतिनिधिज्यूहरूको हातमा छ,” सापकोटाले भन्नुभयो।
कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै सापकोटाले पार्टी संगठनलाई थप सुदृढ बनाउने, महिला सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिने तथा पार्टीको लोकतान्त्रिक मूल्य–मान्यतालाई थप मजबुत बनाउने आफ्नो प्रतिबद्धता रहेको बताउनुभएको छ।
विष्णु सापकोटाको उम्मेदवारी घोषणासँगै गुल्मीबाट कांग्रेस केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि नयाँ राजनीतिक प्रतिस्पर्धासमेत थपिएको छ।
