मंसिर २, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले महासंघ तथा एशिया र पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको साझा संगठन (इफाप्का) का पूर्व अध्यक्ष गणेशलाल श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
महासंघ अध्यक्ष निकोलस पाण्डेको अध्यक्षतामा आज महासंघ सचिवालयमा बसेको स्थायी समितिको बैठकले श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।
बैठकपछि महासंघ अध्यक्ष पाण्डेले श्रेष्ठको निधनबाट नेपालको निर्माण उद्योग तथा पूर्वाधार विकासको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउनुभयो । उहाँले नेपालको निर्माण व्यवसायलाई संस्थागत रूपमा विकास र विस्तार गर्न श्रेष्ठले पुर्याउनुभएको योगदान सधैँ स्मरणीय रहने उल्लेख गर्नुभयो ।
श्रेष्ठले वि.सं. २०४७ देखि २०५४ सालसम्म लगातार तीन कार्यकाल तत्कालीन नेपाल निर्माण व्यवसायी संघको अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो । २०५४ सालमा तत्कालीन नेपाल निर्माण व्यवसायी संघलाई महासंघमा रूपान्तरण गर्ने क्रममा उहाँले महासंघको तदर्थ समितिको अध्यक्षको जिम्मेवारीसमेत कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो ।
- त्यसैगरी, नेपालले सन् १९९९ मा पहिलो पटक ऐतिहासिक रूपमा आयोजना गरेको ३०औँ इफाप्का सम्मेलनका समयमा श्रेष्ठ इफाप्काको अध्यक्ष हुनुहुन्थ्यो । नेपालको निर्माण क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन तथा निर्माण व्यवसायीहरूको साझा संस्थागत सञ्जाल विस्तार गर्न उहाँको भूमिका महत्वपूर्ण रहेको थियो ।
श्रेष्ठको पार्थिव शरीरमा मंसिर १ गते साँझ पशुपति आर्यघाटमा महासंघका वरिष्ठ उपाध्यक्ष रामजी पन्त ‘मुकेश’ ले महासंघको झण्डा ओढाएर भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
श्रद्धाञ्जली अर्पणका लागि वरिष्ठ निर्माण व्यवसायी एवं पूर्वमन्त्री विक्रम पाण्डे, महासंघका निवर्तमान अध्यक्ष रवि सिंह, पूर्व अध्यक्ष विष्णुभाइ श्रेष्ठ, महासंघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरू, निर्माण व्यवसायीहरू र महासंघ सचिवालयका कर्मचारीहरू पशुपति आर्यघाट पुग्नुभएको थियो ।
९१ वर्षको उमेरमा मंसिर १ गते निधन हुनुभएका श्रेष्ठ नेपालको निर्माण व्यवसायको विकास, संस्थागत सुदृढीकरण र अन्तर्राष्ट्रिय पहिचानका लागि योगदान पुर्याउने अग्रज व्यक्तित्वका रूपमा स्मरणीय रहनुहुनेछ ।
महासंघले दिवंगत श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।
