निर्माण व्यवसायीको क्षमता विकासमा सहकार्य आवश्यक : अध्यक्ष पाण्डे
मंसिर ४, काठमाडौं । नेपाली निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले नेपाली निर्माण कम्पनीहरूको क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता विकासका लागि विकास साझेदार र सरकारी निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताउनुभएको छ।
राजधानीमा एसियाली विकास बैंक (एडीबी), विश्व बैंक र एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईआईबी) को संयुक्त आयोजनामा आयोजित ‘बिजनेस अपर्चुनिटी सेमिनार’लाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले नेपाली निर्माण व्यवसायीहरूको क्षमता, सुशासन र व्यावसायिक मापदण्ड सुधारमा जोड दिनुभयो।
उहाँले विकास साझेदार संस्थाहरूद्वारा सञ्चालित परियोजनामा नेपाली निर्माण कम्पनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने बताउँदै आयोजना तथा बोलपत्रसम्बन्धी सूचना समयमै उपलब्ध गराउन आग्रह गर्नुभयो।
त्यस्तै, जग्गा प्राप्ति, वन स्वीकृति, मूल्यवृद्धि र भुक्तानीमा हुने ढिलाइबाट सिर्जना हुने जोखिम निर्माण व्यवसायीमाथि मात्र थोपर्न नहुने उहाँको भनाइ थियो। खरिद प्रक्रियालाई पारदर्शी, निष्पक्ष र निर्माण कम्पनीहरूको वास्तविक क्षमता तथा दक्षतामा आधारित बनाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो।
मध्यपूर्वमा जारी युद्धका कारण पेट्रोलियम पदार्थको मूल्यमा भएको अस्वाभाविक वृद्धिले निर्माण क्षेत्रमा थप चुनौती सिर्जना गरेको उल्लेख गर्दै अध्यक्ष पाण्डेले चालु आयोजनामा समेत उचित मूल्य समायोजन र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो।
कार्यक्रममा सहभागी विश्व बैंक, एसियाली विकास बैंक र एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकका वरिष्ठ प्रतिनिधिहरूले अध्यक्ष पाण्डेले उठाउनुभएका विषयहरू नेपालको पूर्वाधार विकास र निर्माण क्षेत्रका लागि सान्दर्भिक रहेको धारणा व्यक्त गरेका थिए।
सेमिनारमा पूर्वाधार क्षेत्रमा क्रियाशील निर्माण व्यवसायी, परामर्शदाता तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
