इप्पान अध्यक्ष डाँगीद्वारा २२ मेगावाटको सेती खोला जलविद्युत आयोजनाको स्थलगत अनुगमन
भाद्र ५, कास्की। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहन डाँगीले कास्कीको पोखरामा निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको २२ मेगावाट क्षमताको सेती खोला हाइड्रो पावर लिमिटेडको स्थलगत अनुगमन गर्नुभएको छ।
अनुगमनका क्रममा अध्यक्ष डाँगीले आयोजनाको विद्युत् उत्पादन, सञ्चालन अवस्था तथा आयोजनासँग सम्बन्धित विभिन्न पक्षबारे जानकारी लिनुभएको थियो। उहाँले नेपालको आर्थिक विकास र समृद्धिका लागि जलविद्युत् क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो।
अध्यक्ष डाँगीले जलविद्युत् उत्पादनमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै ऊर्जा उत्पादनसँगै लगानीको वातावरण थप सहज बनाउनुपर्नेमा जोड दिनुभयो।
यसै क्रममा सेती खोला हाइड्रो पावर लिमिटेडका तर्फबाट अध्यक्ष डाँगीलाई मायाको चिनो प्रदान गर्दै उहाँको कार्यकाल सफलताको शुभकामना दिइएको थियो।
राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको सेती खोला जलविद्युत् आयोजनाले नेपालको ऊर्जा उत्पादनमा थप योगदान पुर्याउँदै औद्योगिक विकास, रोजगारी सिर्जना तथा समग्र आर्थिक गतिविधि विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
