ब्युँताइयो ऐतिहासिक सप्तपाताल पोखरी
ललितपुर — झन्डै पाँच दशकदेखि अतिक्रमणमा परेको ललितपुरको लगनखेलस्थित ऐतिहासिक तथा सांस्कृतिक महत्त्वको सप्तपाताल पोखरी पुनर्निर्माणपछि आजदेखि पुनः सञ्चालनमा आएको छ।
लिच्छविकालीन इतिहाससँग जोडिएको सप्तपाताल पोखरीको पुरानो स्वरूप पुनर्स्थापना गर्दै ललितपुर महानगरपालिकाले पुनर्निर्माण सम्पन्न गरेको हो। पोखरीसँगै पार्कसमेत निर्माण गरिएको छ। पुनर्निर्माणमा लगनखेल वातावरण संरक्षण समितिले सहकार्य गरेको महानगरपालिकाले जनाएको छ।
सप्तपाताल पोखरीको १४ रोपनी १० आना २ पैसा जग्गा सरकारले २०३४ सालमा नमुना मच्छिन्द्र माध्यमिक विद्यालयको नाममा लालपुर्जा दिएको थियो। विद्यालयले २०५२/५३ सालमा उक्त क्षेत्रमा ‘डिपार्टमेन्ट स्टोर’ निर्माणका लागि जग हालेपछि पोखरीको जग्गा अतिक्रमणमा परेको भन्दै स्थानीयवासीले विरोध गर्दै आएका थिए।
स्थानीय पूर्ण स्थापितको नेतृत्वमा पोखरीको जग्गा सप्तपातालकै नाममा फिर्ता हुनुपर्ने मागसहित अभियान अघि बढाइएको थियो। यही विषयमा २०६१ सालमा सर्वोच्च अदालतमा मुद्दा दायर भयो।
करिब १५ वर्षको कानुनी लडाइँपछि सर्वोच्च अदालतले २०७६ असार २३ गते अतिक्रमणमा परेको जग्गा पोखरीकै नाममा फिर्ता गर्न आदेश दिएको थियो। अदालतको आदेश कार्यान्वयन गर्दै नमुना मच्छिन्द्र माध्यमिक विद्यालयको भवन हटाएर पोखरीको पुरानै स्वरूप फर्काइएको हो।
ऐतिहासिक सम्पदामाथिको अतिक्रमण हटाएर पुनर्निर्माण गरिएसँगै सप्तपाताल पोखरी ललितपुरको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदाका रूपमा पुनः स्थापित भएको छ। लामो समयदेखि संरक्षणको प्रतीक्षामा रहेको पोखरी पुनः सञ्चालनमा आएसँगै स्थानीयवासीमा समेत उत्साह थपिएको छ।
झन्डै पाँच दशकको अतिक्रमण, लामो कानुनी संघर्ष र संरक्षण अभियानपछि सप्तपाताल पोखरीको पुनर्जन्मलाई ऐतिहासिक सम्पदा संरक्षणको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
