काठमाडौं । इन्धन र निर्माण सामग्रीको तीव्र मूल्यवृद्धिका कारण देशभरका निर्माण आयोजना प्रभावित भई समग्र निर्माण क्षेत्र गम्भीर संकटमा पुगेको नेपाल निर्माण व्यवसायी महासंघ ले जनाएको छ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष निकोलस पाण्डेले मूल्य समायोजन नहुँदा निर्माण व्यवसायीहरू काम गर्न नसक्ने अवस्थामा पुगेको बताएका छन्। उनका अनुसार निर्माण उद्योग शिथिल हुँदा देशको समग्र अर्थतन्त्रमा नकारात्मक असर परेको छ।
इन्धन, बिटुमिन लगायतका निर्माण सामग्रीको मूल्य निरन्तर बढ्दै जाँदा निर्माणाधीन आयोजनाहरू आर्थिक संकटमा परेको उनले बताए। फेब्रुअरी १५ अघि प्रति लिटर १३९ रुपैयाँ रहेको डिजेल हाल २२५ रुपैयाँ पुगेको छ भने बिटुमिनको मूल्य ७५ रुपैयाँबाट बढेर १५५ रुपैयाँ प्रति केजी पुगेको छ।
महासंघले सरकारका सम्बन्धित निकायहरूलाई बारम्बार जानकारी गराए पनि समस्या समाधानका लागि ठोस कदम नचालिएको गुनासो गरेको छ। अध्यक्ष पाण्डेले सबै ठेक्कामा मूल्य समायोजन लागू गर्न तत्काल मार्गनिर्देशन जारी गर्न र प्रभावित निर्माण व्यवसायीहरूलाई राहत दिन माग गरेका छन्।
साथै, अहिलेको अवस्थामा निर्माण आयोजनाहरू निर्धारित समयमै सम्पन्न हुन नसक्ने भएकाले म्याद थप, बजेट व्यवस्थापन, बैंक ग्यारेन्टी र बीमा सम्बन्धी सहुलियत दिन सरकारसँग अनुरोध गरिएको छ।

महासचिव शिवहरि घिमिरेले एक हप्ताभित्र मूल्य समायोजन सम्बन्धी नीतिगत निर्णय नभए निर्माण कार्यहरू स्वतः बन्द हुने चेतावनी दिएका छन्। यस्तो अवस्थामा उत्पन्न हुने सबै परिणामको जिम्मेवारी सरकारले लिनुपर्ने उनको भनाइ छ।
सार्वजनिक खरिद ऐन, २०६३ संशोधन सम्बन्धी अध्यादेशलाई महासंघले आंशिक रूपमा सकारात्मक मानेको छ। केही सुधार भए पनि मूल्य समायोजन, भुक्तानी व्यवस्था लगायतका महत्वपूर्ण विषय समेटिन नसकेको महासंघले जनाएको छ।
महासंघले निर्माण क्षेत्रमा देखिएको संकटले अर्थतन्त्र, रोजगारी र पूर्वाधार विकासमा गम्भीर असर पार्ने चेतावनी दिँदै निजी क्षेत्रप्रति राज्यको व्यवहार सुधार गर्न आग्रह गरेको छ।
