गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर,
गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नम:”
“गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन अनि गुरु भनेकै भगवान शंकर हुन्,
गुरु नै हुन् साक्षात परब्रह्म, यस्ता गुरुलाई म नमस्कार गर्दछु ।”
जिन्दगीले हरेक मोडमा हामीलाई केहि न केहि सिकाएरै जान्छ तसर्थ हरेक पाठलाई आत्मसाथ गर्नसके गुरुपूर्णिमाको र गुरुतत्वको सहि उपयोग हुनेछ ।आफूलाई पढाउने सर, मिस, दाई, दिदि लगायत सबैलाई एकफेर नमन गरौ, संझना गरौं । असल गुरु र असल शिष्य दुबै बन्न सक्नुहोला गुरुपूर्णिमाको शुभकामना !
असल गुरुको प्राप्ती या छनौट अधिकांश समस्या र दूविधाहरुको निरोध हो भनेर भनिन्छ तथापी अहिलेको यूगमा असल गुरु र असल शिष्य दुवैको पहिचान गाह्रो छ । विज्ञान प्रविधीको अहिलेको यूगमा पक्कैपनि हामीले ज्ञान प्राप्तिकालागि एकलब्यले जस्तो द्रोणाचार्यको प्रतिमुर्ती बनाएर र त्यसैलाई गुरु थापेर सिक्नपर्ने जरुरत छैन न त गुरुदक्षीणाका रुपमा औंला नै काटेर दिनुपर्ने वलिदान नै । विश्वस्तरका शिक्षाकालागि संस्थागतरूपमा स्थापना भएका विद्यालय, विश्वविद्यालय, शिक्षण पेशा अनि सञ्चारका माध्यमहरुले पनि हामीलाई गुरुरुपी शिक्षा दिइरहेका छन् ।औषधिको तथ्य र असर देखि चन्द्रमानका तालिकासम्म गुगल अनि यूट्यूब लगायत इन्टरनेटबाट सिक्ने, त्यहिंका श्रोतबाट अध्ययन गर्ने अहिलेका पुस्ताहरुलाई गुरु पूर्णिमाले केहि फरक अनुभव दिन सक्दछ ।संसार जहाँनै पुगेपनि गुरुतत्वले स्वरुप परिवर्तन गरेका हो, शिक्षा आकाशबाट वर्षिदैन न त आकाशवाणी नै हुन्छ । शिक्षाका श्रोत र हस्तान्तरणकर्ताहरु सबैजना गुरु हुन्, गुरुतत्व हुन् ।
संसार जत्तिकै आधूनिक र ज्ञानहरु जत्तिकै सहज र ब्यवसायीक रुपमा उपलब्ध भए पनि संसारमा गुरुतत्वको दियो अझै बलिरहेको छ, बलिरहने छ । गुरुतत्वको त्यहि महत्वलाई आत्मसाथ गरेर हुनसक्छ सनातन संस्कारमा बर्ष पछिको बर्ष र यूग पछिका यूगहरुमा पनि गुरुहरुलाई अझ आदर र श्रद्धाका साथ हेर्ने गरिन्छ । आउँदा पुस्ताहरुलाई पनि गुरु, ज्ञान र गुरुतत्वको महत्व गुरु पूर्णिमामा दर्शाइने कार्य जारी रहनेछ । अज्ञानता र अचेतनाको अँध्यारोबाट ज्ञान र चेतनाको उज्यालोमा ल्याउने, सही मार्ग प्रदर्शन गर्ने समस्त गुरुहरुलाई आजको दिन कोटी कोटी नमन गरिने गरिन्छ । गुरु मार्फत् प्राप्त गरेको ज्ञान र विवेकले आफ्नो जीवनमा पारेको प्रभावप्रति आभार ब्यक्त गर्दै ज्ञानको पथमा सधैं अगाडी बढ्दै जाने प्रतिज्ञा र गुरुप्रति आभार व्यक्त गर्ने दिन पनि हो
गुरुपूर्णिमाञ ।
यस तिथिमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रूपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असीम कृपा प्राप्त हुने र स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने विश्वास छ । पूर्णिमाको दिन विशेषगरि भगवान् शिव र विष्णुको आराधना गरिन्छ । भगवान् विष्णुलाई गरिने विशेष अर्चनालाई सत्य नारायण पुजा को स्वरूपमा गरिन्छ । सामान्यतया सत्य नारायण पूजा जहिले गरे पनि हुने कार्य हो यद्यपि पूर्णिमाको दिनमा गरिने यस पुजा को फल निकै धेरै पाइन्छ ।
वैज्ञानिक हिसाबले हेर्दा पूर्णिमाको दिन पृथ्वीमा गुरुत्ववलको प्रभाव धेरै रहने र यस दिन व्रत बसेर भगवानको नाम स्मरण गर्दा आत्म शुद्धि हुने बताइन्छ । यस दिन व्रत बस्नाले मेटावोलीक प्रक्रिया सुदृढ रहने, ग्यास्ट्रिक समस्याहरू हल भएर जाने र शरीरमा सकारात्मक ऊर्जा बढ्ने हुन्छ । यस दिनको व्रत बिहान सूर्योदयको समय वाट साँझमा चन्द्रोदय भएसम्म गरिन्छ । कसै कसै ले निराहार र निर्जल बसेर यस व्रत लिन्छन् भने कसै कसैले एक छाक मात्र खाएर, अलिनो आहार ग्रहण गरेर व्रत बस्दछन् । साँझमा चन्द्रोदय पछि चन्द्रमाको दर्शनसँगै व्रत समापन हुन्छ ।
अष्ट चिरञ्जीवी का एक चिरञ्जीवी, गुरु ब्यास
गुरु पूर्णिमा गुरु ब्यासको पनि जन्म दिन पर्दछ । आज थोरै यी अष्ट चिरञ्जीवीका एक चिरञ्जीवी, अमर अनि गुरुका गुरु ब्यासका विषयमा कुरा गरौँ ।गुरु ब्यास महाभारतका रचयिता मात्र नभई महाभारतकै एक जीवन्त पात्र पनि हुन्, महाभारतका भीष्म र ब्यास नाताले सौतेनी दाजुभाइ हुन् । राजा शान्तनुले सत्यवतीलाई विवाह गर्दछन्, सत्यवतीका पिता माझी हुन्छन्, राजाले ससुरालाई सत्यवतीका तर्फबाट भएका सन्तानलाई सिंहासनमा बसाउने वाचा गर्दछन् र यस अघि नै सान्तनुले पुत्र भीष्मलाई राजकुमार घोषणा गरेर उत्तराधिकारी ठहर गरिसकेका हुन्छन् । पछि भीष्मले आफ्नो पिताको वाचा थाहा पाएर पितालाई वचनमा अडिग रहनका लागि आफू स्वयमले राजकुमार वाट हटेर सिंहासनमा कुनै दाबी नगर्ने घोषणा गरेका हुन् ।
गुरु व्यास सत्यवतीका विवाह अघिका पुत्र हुन्, यिनका पिता पराशर हुन् । पराशर र सत्यवतीको आध्यात्मिक समागमले ब्यासको जन्म भयो, आफ्नी जन्म माताको खोजीका क्रममा ब्यास हस्तिनापुर दरबार सम्म पुग्दछन् । यिनै ब्यासले महाभारतका सकल घटनाक्रमलाई लेखेका हुन्, कथेका हुन् । सबै वेद, श्री मद भागवत अनि १८ पुराणका सर्जक ब्यासले दत्तात्रयलाई पनि सिकाएको कुरा उल्लेख छ । ब्यास गुरुका पनि गुरु हुन्, आजको दिन अर्थात् यो पूर्णिमा यिनको जन्म अनि यिनले वेदका ज्ञानलाई बाँडेर वेदका प्रकारहरू र नाम छुटाएको पवित्र दिनका रूपमा सम्झना गरिन्छ ।

