“पत्रु खाना” भन्ने आशय दिने अवधारणा मूलतः आयुर्वेद र परम्परागत जीवनशैलीमा आधारित सोचबाट आएको हो। नेपाली समाजमा “पत्रु” भन्ने शब्दले प्रायः शरीरलाई फुर्तिलो नबनाउने, भारी वा आलस्य दिने, पचाउन गाह्रो हुने, वा पोषण कम भएको खाना जनाउँछ। विशेष गरी ताजा नरहेको, धेरै पटक तारेको, फास्टफूड, डब्बा बन्द खाना, अजिनामोटो जस्तो अत्यधिक खराब मसलायुक्त खाना “पत्रु” मानिने गरिन्छ। आयुर्वेदमा यस्ता खानाको नाम तामसिक गुण भएको भनेर दिने गरिन्छ। जसले शरीर सुधार्न कम सहयोग गर्दछ। तर मन र चेतनामा भारीपन ल्याउँछ। ध्यान केन्द्रित गर्ने खुबी, मानव बौद्धिकता विकास र तन्दुरुस्तीमा कि त नकारात्मक असर गर्छ कि सोचेको जस्तो सहयोग नगर्ने प्रमाणित बन्दछ।
आयुर्वेदमा सिधै “पत्रु खाना” भन्ने शब्द नभए पनि त्यसको भाव, लक्षण र असरको वर्णन सहस्रौं वर्षअघिदेखि गरिएको पाइन्छ। आयुर्वेदको मूल ग्रन्थहरू—चरक संहिता, सुश्रुत संहिता, र अष्टाङ्ग हृदयम्—जस्ता ग्रन्थहरू झन्डै ईसा पूर्व १००० देखि ईसा पछि ५०० को बिचमा लेखिएका थिए। यस आधारमा, पत्रु खाना सम्बन्धी अवधारणाको कम्तीमा २५००–३००० वर्ष पुरानो ऐतिहासिक जड अनुमान गर्न सकिन्छ। उदाहरणका लागि, चरक संहितामा “आहार” लाई त्रिविध गुण (सात्त्विक, राजसिक, तामसिक) अनुसार वर्गीकृत गरिएको छ। जहाँ अत्यधिक तारेको, बासी, अति गन्धयुक्त, वा अति तेलयुक्त खाना तामसिक भनिएको छ, जुन आजको “पत्रु खाना” को भाष्य संग मिलेको मान्न सकिन्छ। यसैले, “पत्रु खाना” को आयुर्वेदिक जड प्राचीन ग्रन्थहरूको “तामसिक आहार” सम्बन्धी शिक्षाबाट आएको हो भन्ने बुझ्न कठिन छैन। यो भाष्य नेपाली समाजमा लगभग ३०० वर्ष अघि देखि स्थापित भएको तथ्यहरू भेटिन्छ।
हाल केही भुईँफुट्टा पोषण सल्लाहकारको रूपमा उदाएका हल्लाकारहरू वैज्ञानिक दृष्टिकोणबाट हेर्दा समेत बुझिनु पर्ने “पत्रु खाना” को अवधारणा भुलेर आफ्नो सनकको भरमा खानको वर्गीकरण गर्ने गरेको देखिन्छ। जसको सल्लाह हाल हाम्रो समाज बिगार्ने भाइरस जस्तै बन्न गएको प्रतीत हुन्छ। वैज्ञानिक दृष्टिकोणबाट हेर्दा “पत्रु खाना” को धारणा धेरै जसो ग्लाइसिमिक इन्डेक्स (GI), ट्रान्स फ्याट, प्रोसेसिङ स्तर, वा माइक्रोबायोम विहीनता जस्ता विषयले निर्णय गर्ने गरिन्छ। जुन यस्ता मापदण्ड हुन् जसले अप्रत्यक्ष रूपमा खानाको नाम तामसिक गुण नै अन्दाज गर्न सहयोगी हुन्छ। भौतिक स्वस्थमा अधिक तर मनोवैज्ञानिक र आध्यात्मिक सबलतामा न्यून ध्यान पुग्ने यी मापदण्डमा आधारित खानको वर्गीकरणका कारण कतिपय खाना परम्परागत रूपमा पत्रु मानिए पनि वैज्ञानिक रूपमा तुलनात्मक रूपले सुरक्षित र सन्तुलित भएको भ्रम हामीमा दिने गर्दछ।
अतः “पत्रु” भन्ने पुरानो अवधारणा निकै गहन रूपमा बुझेर खानको “पत्रु गुण” को वैज्ञानिक र वैदिक पुनः मूल्याङ्कन गर्नु आवश्यक देखिन्छ। जसरी ओर्ग्यानिक कृषि वैदिक कृषि भन्दा कम उन्नत छ, आधुनिक कृषिले ऋषि कृषिले दिने सामाजिक मूल्य कहिल्यै परिपूर्ति गर्न सक्दैन त्यस्तै तुलनात्मक रूपले वैज्ञानिक रूपमा सुरक्षित र सन्तुलित भएको आधारमा गरिएको खानको गुणको आधारमा खाइने खानाले आयुर्वेद र परम्परागत जीवनशैलीमा आधारित सोचबाट आएको “पत्रु खाना” को गुणमा नपर्ने खानको भूमिका ले जस्तो हाम्रो स्वस्थ सबल र जीवनको सहज नियमितता गर्ने प्रयासमा भूमिका खेल्न सक्ने छैन।
नेपालमा हाल सम्मको वैज्ञानिक बुझाइका आधारमा “पत्रु खाना” बारे चर्चा गरिने गरिएको छ। जुन आफैमा अत्यन्त कच्चा र अवैज्ञानिक बहस हो। त्यस्तो बहसलाई किन वैज्ञानिक समेत भन्न मिल्दैन भन्ने कुरालाई स्पष्ट गर्न मैले यहाँ कोसिस गरेको छु। यसै सन्दर्भमा धेरै मित्रहरूको प्रश्न यो हुने गर्दछ कि किन म:म:, चिउरा, पास्ता जस्ता खानेकुरा पत्रु होइनन् ? विज्ञानको आधारमा रहेर आएको यस्तो प्रश्नको उत्तर वैज्ञानिक रूपको खानको गुणको पहिचान गर्ने मुख्य आधार “ग्लाइसिमिक इन्डेक्स” (Glycemic Index – GI) को मापन प्रणालीमा आधारित रहेर नै दिन सकिन्छ।
यसको लागि पहिले ग्लाइसिमिक इन्डेक्स भनेको के हो त्यो बुझौँ। ग्लाइसिमिक इन्डेक्स (GI) भन्नाले कुनै खानाले रगतको चिनी (Blood Sugar) कति चाँडो बढाउँछ भन्ने कुरा हो। जसमा Low GI (55 वा कम) हुने खाना लाई राम्रो मानिन्छ। किनकि यसले रगतको चिनी बिस्तारै बढाउँछ। Medium GI (56–69) लाई विज्ञानमा ठिक-ठाक प्रकृतिको गुणको खाना मानिन्छ। जसले मध्यम रूपमा रगतमा चिनीको हद बढाउने गर्दछ। High GI (70 वा माथि) को खानाले निकै छिटो रगतमा चिनीको मात्रा बढाउँछ। यस्तो खानालाई दीर्घकालीन रूपमा विज्ञानले राम्रो हुँदैन भन्दछ।
अब हाम्रो नेपाली मुख्य खानाहरूको GI को तुलना गरी हेरौँ :
सेतो चामल (White Rice) : 70–90 (उच्च) : चाँडै रगतको चिनी बढाउँछ।
सेतो पिठो (White Wheat Flour): 70–85 (उच्च) : पाउरोटी जस्ता कुरामा प्रयोग, चाँडो चिनी बढाउँछ।
ब्राउन राइस (Brown Rice) 50–65 (मध्यम–कम): सेतो चामलभन्दा राम्रो।
पूर्ण गहुँको पिठो (Whole Wheat Flour): 50–70 (मध्यम) : सेतो पिठोभन्दा राम्रो।
गहुँका चाउचाउ (Wheat Noodles): 50–70 (मध्यम–कम): चामल र सेतो पिठोभन्दा राम्रो।
चाउ चाउ बाईँ बाईँ (Wai Wai): 58–65 (मध्यम–उच्च) : चामल / पिठोसँग तुलना गर्दा बराबरी वा अलिक राम्रो।
गहुँको पास्ता (Wheat Pasta): 40–50 (कम–मध्यम): चामल, चाउचाउ भन्दा अझ राम्रो।
चिकेन म:म: : 40–50 (कम–मध्यम) : चामल वा पिठोभन्दा राम्रो।
तरकारी म:म:: 45–55 (कम–मध्यम): चामल वा पिठोभन्दा राम्रो।
खसीको म:म:: 45–55 (कम–मध्यम): चामल वा पिठोभन्दा राम्रो।
खसी मासु चिउरा: मासु GI ≈ 0–20, चिउरा GI ≈ 55–70 : समग्र GI: 55–70 (मध्यम–उच्च)
चिकेन मासु चिउरा: चिकेन GI ≈ 0–20, चिउरा GI ≈ 55–70 : समग्र GI: 55–70 (मध्यम–उच्च)
चना चिउरा (Chickpea + Chiura): चना GI ≈ 28–36, चिउरा GI ≈ 55–70 : समग्र GI: 45–55 (कम–मध्यम)
यसरी नेपालमा हामीले खाइने सबै म:म:, पास्ता, चना-चिउरा, ब्राउन राइस आदि ग्लाइसिमिक इन्डेक्सको आधारमा हेर्दा सेतो चामल वा सेतो पिठोभन्दा राम्रो छन्। यस्ता खाना तुरुन्त “पत्रु” भनेर ठहर गर्न मिल्दैन। मैदाको पिठो प्रयोग भएको भए पनि म:म: पत्रु खाना होइन। चाउ चाउ : 58–65 (मध्यम–उच्च) वैज्ञानिक हिसाबमा चामल / पिठोसँग तुलना गर्दा बराबरी वा अलिक राम्रो देखिए पनि यो अत्यधिक प्रशोधित भएकोले पत्रु खाना नै हो। यो बाट हामीले के बुझ्नु पर्दछ भने रगतमा चिनी बढाउने दर (GI) मा आधारित भएर पोषणको मूल्याङ्कन गर्नु वैज्ञानिक छैन। व्यवहारिक पनि छैन। यसको आधारमा खानलाई “पत्रु” भनी खोकिने बुझाइलाई अझ वैज्ञानिक, खानको वास्तविक प्रयोगले दिएको नतिजा, आयुर्वेद र परम्परागत जीवनशैलीमा आधारित सोचबाट मूल्याङ्कन गरेर मात्र बुझ्नु पर्ने आजको हाम्रो बजारको आवश्यकता बनेको छ।
यसको समग्र निचोड के हो भने कुनै पनि नेपाली रैथाने खाना “पत्रु खाना” गुणको छैन। त्यस्तै नेपाली रैथाने खानामा आधारित केही परिष्कृत भएका हालका खाना लाई समेत पत्रु भन्न मिल्दैन। तिनीहरूलाई “पत्रु खाना” भन्ने व्यक्ति त्यो डाक्टर नै रहेछ भने पनि त्यसलाई “पत्रु सल्लाह दिने डाक्टर” भनी बुझ्नु उत्तम हुने छ। स्मरण रहोस् खाना “पत्रु खाना” हो होइन भन्ने कुरा डाक्टर ले होइन पोषण विज्ञले जान्ने कुरा हो।
