बुटवल–नारायणगढ खण्डको ९३ किलोमिटर सडक एकतर्फी कालोपत्र
निर्माणाधीन पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने खण्डबाहेकको क्षेत्रमा एकतर्फी सडक कालोपत्र भएको छ ।
बुटवल नारायणगढ सडक आयोजनाले सोमबार दिएको जानकारी अनुसार यो खण्डको दाउन्नेबाहेक ९३ किलोमिटर सडक एकातर्फी कालोपत्र भएको हो । दाउन्ने क्षेत्रमा करिब ५ सय मिटर सडक सिमेन्टले ढलान गरेर निर्माण गरिएको छ ।
बुटवल–नारायणगढ सडक खण्डको १ सय १३ किलोमिटरमध्ये कुल ३ दशमलव ७ किलोमिटर खण्डमा पुल पर्दछन् । दुम्कीवास–बर्दघाट सडकअन्तर्गत पर्ने दाउन्नेको १४ किलोमिटर सडकमध्ये पश्चिम बर्दघाटतर्फ करिब ३ किलोमिटर सडक कालोपत्र भइसकेको छ ।
निर्माणाधीन सडकअन्तर्गत ६ वटा पुल रहेको क्षेत्रमा सडक कालोपत्र भएको छैन । दाउन्ने बाहेकको सडक खण्ड कालोपत्र भएकाले अब आवतजावतमा सुविधा पुग्ने सडक निर्माण आयोजनाअन्तर्गत पूर्वी खण्डका प्रवक्ता शिव खनालले जानकारी दिए ।
