सज्जनहरू हो ! यदि तिमीहरूले अहिलेसम्म संसारमा दुःख बाहेक सुख छंदैछैन र हामीले यस्तै दुःखमय खसेको अवस्थामा नै रहनु छ भन्ने सोचेका छौ भने आजैदेखि तिमीहरू आपनो मनबाट यो दूषित भाव निकालि-देओ । अहिलेसम्म जो भयो सो भयो, तर पछिका लागि यो विचार गर–यो संसार सुखमय छ, मेरो दिनों-दिन उन्नति भइरहेछ, म जे चाहूँ सोही गर्न सवछु, ममा परमात्माको अंश छ । यस्तो दृढ विचार मनमा गर र नराम्रा विचारहरूलाई एक सेकेण्ड पनि मनमा रहन नदेउ । यसबाट तत्क्षण तिमीमा नयाँ बल, नयाँ उत्साह, नयाँ शक्ति र उत्तम भाव उत्पन्न हुनेछन् । विचार तिस्रो अधीन छ । तिम्रो तुच्छ सेवक हो । जो तिमी आज्ञा दिन्छौ, उसले अवश्य गर्नु पर्नेछ । यदि तिम्रो संसर्ग नराम्रो वस्तुहरूसंग भयो भने उसबाट नराम्रो फल होला किनकि विचारका कम्पन केवल तिमीमा नै रहिरहँदैनन् । ती फैलेर तिम्रा विचारानुसार अन्य वस्तुहरूमाथि पनि प्रभाव पार्दछन् र तिम्रा संसर्ग तीसंग गराइदिन्छन् । त्यसैले तिमीलाई दुःखहरूको सामना गर्नु पर्दछ वा तिमी स्वयं यस्तो कुरा गरिदिन्छौ जसबाट तिमीलाई हानि हुन्छ । कारण यो हो कि त्यस विचारको प्रभाव तिम्रा अंगप्रत्यंगमा व्याप्त हुन जान्छ । यसैले तिमी उसैका अनुकूल कार्य गर्न लाग्छौ
ब्रह्मज्ञानी परमपूज्य श्री १००८ खप्तडबाबा – तत्पुरुषका करकमलबाट पोखिएका अमृतको ग्रन्थ “विचार-विज्ञान”
