प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख आतिथ्यतामा छैटौँ पूर्वाधार सम्मेलन हुँदै
मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुने सम्मेलनमा तीन दर्जन लगानीयोग्य परियोजना प्रस्तुत गरिने
कात्तिक १९, काठमाडौं । स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्दै नेपालको पूर्वाधार विकासलाई गति दिने उद्देश्यसहित छैटौँ नेपाल पूर्वाधार सम्मेलन–२०२६ आगामी मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुने भएको छ। सम्मेलनको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्नुहुनेछ।
‘उत्थानशील भविष्यका लागि निर्माण’ भन्ने नारासहित आयोजना हुन लागेको सम्मेलनबारे बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो। नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो।

सम्मेलनमा करिब तीन दर्जन लगानीयोग्य पूर्वाधार परियोजना स्वदेशी तथा विदेशी लगानीकर्तामाझ प्रस्तुत गरिनेछ। साथै, सम्भावित केही परियोजनामा लगानी सम्झौता गर्ने तयारीसमेत गरिएको आयोजकले जनाएको छ।
नेपाल उद्योग परिसंघले सन् २०१४ देखि आयोजना गर्दै आएको सम्मेलनको यस संस्करणमा लगानी तथा पूर्वाधार विकाससँग सम्बन्धित कानुनी सुधार, राष्ट्रिय पूर्वाधारको खाका, आगामी १० वर्षको विकास दृष्टिकोण तथा लगानीकर्ताले सामना गरिरहेका चुनौतीको समाधानका विषयमा विशेष छलफल हुनेछ।

विशेषगरी ६९ वटा विधेयकमार्फत कानुनी सुधार, लगानीमैत्री कानुनी संरचनाको आधुनिकीकरण र प्रभावकारी कार्यान्वयन संयन्त्र विकास गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ।
सम्मेलनमा पूर्वाधार, ऊर्जा, सहरी विकास, क्षेत्रीय यातायातलगायत १२ वटा विषयगत क्षेत्रमा स्वदेशी तथा अन्तर्राष्ट्रिय विज्ञ, लगानीकर्ता र सरकारी प्रतिनिधिबीच छलफल हुनेछ। सम्बन्धित मन्त्रालय तथा सरकारी निकायका प्रतिनिधिले नीतिगत व्यवस्था, कानुनी सुधार र लगानीका सम्भावित परियोजनाबारे जानकारी गराउनेछन्।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रको योगदानबिना समृद्ध मुलुक निर्माण सम्भव नहुने बताउनुभयो। सरकारकै विशेष पहलमा आयोजना हुन लागेको यस सम्मेलनको विशेष महत्व रहेको उल्लेख गर्दै उहाँले शासकीय सुधारसँगै पूर्वाधार विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पूर्वाधारमैत्री कानुनबिना समृद्धिको परिकल्पना गर्न नसकिने भन्दै सरकारले ऐन तथा कानुन सुधारलाई प्राथमिकतामा राखेको बताउनुभयो। कानुनी सुधारले पूर्वाधार परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो।
त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले पूर्वाधारमैत्री कानुन निर्माणका लागि सरकारले तीव्र रूपमा काम गरिरहेको बताउनुभयो। वर्तमान सरकारले इमानदारीको जगमा काम गरिरहेको उल्लेख गर्दै उहाँले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभयो।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले पूर्वाधार विकासको मूल्यांकन केवल कालोपत्रे सडकको संख्याका आधारमा नभई यात्रामा लाग्ने समय घटेको आधारमा हुनुपर्ने धारणा राख्नुभयो। सडक सञ्जालमार्फत प्रमुख सहरबीचको दूरी र यात्रा समय घट्नु नै नेपालको विकासको महत्वपूर्ण सूचक भएको उहाँले बताउनुभयो।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले पूर्वाधार विकासबाट मात्रै आर्थिक समृद्धि सम्भव हुने बताउनुभयो। नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले भरपर्दो पूर्वाधारले मुलुकको आर्थिक बोझ कम गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।
प्रधानमन्त्रीका सल्लाहकारद्वय सुदीप ढकाल र आसिफ शाहले वर्तमान सरकारसँग देश विकासका लागि काम गर्ने दृढ इच्छाशक्ति रहेको उल्लेख गर्दै पूर्वाधार विकासका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो।
सम्मेलनले सरकार र निजी क्षेत्रबीच पूर्वाधार विकासका प्राथमिकता, लगानीका सम्भावना र परियोजना कार्यान्वयनका चुनौतीबारे साझा धारणा निर्माण गर्नुका साथै नेपालमा स्वदेशी तथा विदेशी लगानीको वातावरण थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
