बाढी प्रभावित नुवाकोटका विभिन्न क्षेत्रमा निर्माण व्यवसायी महासंघको स्थलगत निरीक्षण
भदौ १९, नुवाकोट । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले बाढी प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गरेको छ।
चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट नुवाकोटमा भएको मानवीय तथा भौतिक क्षतिको अवस्थाबारे प्रतिनिधिमण्डलले जानकारी लिएको हो।
निर्माण व्यवसायी संघ नुवाकोटका प्रतिनिधिसहितको टोलीले देवीघाट, ढुङ्गे, गेर्खुटार र शुभघाट लगायतका क्षेत्रमा पुगेर बाढीबाट क्षतिग्रस्त पूर्वाधार तथा प्रभावित क्षेत्रको निरीक्षण गरेको थियो।

स्थलगत निरीक्षणका क्रममा ढुङ्गेस्थित बुद्ध मन्दिरको तल्लो भागदेखि त्रिशूली बजार जोड्ने करिब २५० मिटर लामो झोलुङ्गे पुल निर्माण तत्काल अघि बढाउनुपर्ने आवश्यकता देखिएको महासंघले जनाएको छ। उक्त पुल निर्माण भए नुवाकोटसहित रसुवा, धादिङ र गोरखाका ५० हजारभन्दा बढी स्थानीयवासी लाभान्वित हुने अनुमान गरिएको छ।

महासंघ अध्यक्ष पाण्डेले पूर्वाधार मन्त्रालयसँग समन्वय गरी प्राविधिक विज्ञहरूको परामर्शमा पुल निर्माणलाई उच्च प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ।
पुल निर्माणपछि नुवाकोट जिल्ला अस्पताल, किस्पाङ र मेघाङ गाउँपालिका तथा विदुर नगरपालिका–७, ८, ९ र ३ का केही भूभागसँग बाढीका कारण विच्छेद भएको आवागमन पुनःस्थापित हुने र हजारौँ नागरिक प्रत्यक्ष लाभान्वित हुने स्थानीयको भनाइ छ।
निरीक्षणका क्रममा विदुर नगरपालिकाका प्रमुख, नेपाली सेनाका उच्च अधिकारी तथा सडक डिभिजन कार्यालयका प्रमुखले प्रतिनिधिमण्डललाई नुवाकोटमा बाढीबाट भएको क्षति र पुनःनिर्माण तथा आवागमन सहज बनाउन आवश्यक पहलका विषयमा जानकारी गराएका थिए।
प्रतिनिधिमण्डलमा महासंघका वरिष्ठ उपाध्यक्ष रामजी पन्त ‘मुकेश’, उपाध्यक्ष बालकृष्ण थापा, कार्यसमिति सदस्य देवराज पाण्डे तथा विशेष आमन्त्रित सदस्य ओपेन्द्र कुमार खड्का सहभागी हुनुहुन्थ्यो।
